कम्युनिष्टको नेतृत्व क्रान्तिकारी माओवादीले गर्छ: गजुरेल

Posted on: 23 Jan, 2018

माघ  ९, उदयपुर | (नेकपा(माओवादी क्रान्तिकारी)का नेता सिपी गजुरेलले सबै तहका निर्वाचन सम्पन्न भए तापनि राजनीतिक रुपमा नेपाल अझै पनि जटिल राजनीतिक संक्रमणकालमा रहेको बताउनुभएको छ । 

क्रान्तिकारी पत्रकार महासंघले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता गजुरेलले प्रदेश र केन्द्रको सरकार गठन हुन नसकेको तथा सरकार पनि कामचलाउ मात्र भएर अझै पनि बहुमतीय सरकारजस्तै काम गरिरहेको आरोप लगाउनुभयो । 

विसं २०५२ देखि आफूहरुले बन्दुक उठाउनुको अर्थ गणतन्त्र मात्र प्राप्त गर्नु नभएर जनगणतन्त्रसम्म पुग्नका लागि भए तापनि आज केही कम्युनिष्टले सबै लक्ष्य र उद्देश्यलाई वाम गठबन्धनका नाममा दक्षिणपन्थीतर्फ संशोधन गर्दै लगेको विचार व्यक्त गर्नुभयो । 

“वैचारिक रुपमा नेपाली काँग्रेस २०१५ सालभन्दा अगाडि बढ्न सकेको छैन, नेकपा (एमाले) र माओवादी केन्द्रले सच्चा कम्युनिष्टको नारा दिएर वाम गठबन्धनको नाममा दक्षिणपन्थतर्फ कम्युनिष्ट आन्दोलनलाई लगेका कारण देशमा अझै संघर्ष बाँकी छ”, उहाँले भन्नुभयो । 

अब कम्युनिष्टको नेतृत्व आफूहरुले गर्ने तर हिजोको जस्तो जनयुद्ध नभई वैचारिक मोर्चा र संघर्षबाट आफूहरुले नेपाली जनतामा दक्षिणपन्थको भण्डाफोर गर्दै नेपाललाई सच्चा समाजवादतर्फ डोर्याउने जिकिर उहाँले गर्नुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!