उम्मेदवार टुंगो लगाउँदै प्रमुख दलहरु

Posted on: 23 Jan, 2018

भीष्मराज ओझा / माघ ९, काठमाडौँ | राष्ट्रियसभा सदस्यको निर्वाचन तालिकाअनुसार उम्मेदवारको मनोनयनपत्र दर्ताको मिति नजिकिएसँगै प्रमुख दल आफ्ना उम्मेदवार टुंगो लगाउन व्यस्त छन् । 

निर्वाचन आयोगका अनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ । 

निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउन नेपाली काँग्रेस पदाधिकारी बैठक आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । काँग्रेसले सोमबार प्रदेश नं ७ बाट बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), धर्मराज जोशी (अपांग) र शेरीराम पार्की (दलित)लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको र बाँकी प्रदेशमा पनि आजै उम्मेदवारको टुंगो लगाउने पार्टीका नेता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । 

निर्वाचनमा काँग्रेसले सहकार्यका लागि विभिन्न प्रदेशमा फरक फरक दलसँग विभिन्न चरणमा छलफल गरिसकेको उहाँले जानकारी दिनुभयो । काँग्रेसले निर्वाचनमा प्रदेश नं २ मा मधेश केन्द्रित दलसँग, प्रदेश नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा (प्रजातान्त्रिक) र विवेकशील साझा पार्टीसँग सहकार्य गर्ने सम्भावना रहेको बताइन्छ । 

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार आइतबार सात वटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिसकेको छ । 

नेकपा (एमाले)ले सोमबार तीन प्रदेशमा पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको छ भने बाँकी उम्मेदवारको आजै टुंगो लगाउने जनाएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले प्रदेश नं ७ मा कमला ओली (महिला), इन्दु कडेरिया विष्ट (महिला), शेरबहादुर कुँवर (खुला), चक्रप्रसाद स्नेही (दलित) लाई उम्मेदवार बनाएको पार्टी सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । 

त्यसैगरी एमालेले प्रदेश नं ६ मा कविता बोगटी (महिला), नन्दा शर्मा (महिला), नरपति लोहार (दलित), भैरवसुन्दर श्रेष्ठ (खुला) ठगेन्द्र पुरी (खुला)लाई उम्मेदवार बनाएको छ । प्रदेश नं ५ मा एमालेले रामलखन हरिजन (दलित), खिमलाल भट्टराई (खुला), मीना बुढा (महिला) र कोमल वली (महिला) लाई उम्मेदवार बनाएको छ । 

यही माघ २४ गते हुने सो निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरी २९ सदस्यमा मात्र उम्मेदवार दिने जनाएको छ । 

राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा एक हजार ५०६ र सात वटा प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य जम्मा ५५० गरी कूल दुई हजार ५६ मतदाताले मताधिकार प्रयोग गर्ने संवैधानिक व्यवस्था छ । 

स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष छन् भने प्रदेशसभामा पुरुष ३६१ र महिला १८९ मतदाता छन् । निर्वाचनका लागि सात स्थानमा १४ मतदान केन्द्र रहने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ हुने आयोगले जनाएको छ । 

माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार चयन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको प्रदेश इञ्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष दाहाल तथा नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई मंगलबारसम्म उम्मेदवार छनोट गर्ने गरी जिम्मा दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । 

एमालेसँग संयुक्त रुपमा निर्वाचनमा जाने भएकाले माओवादी केन्द्रले १४ उम्मेदवारमात्र उठाउने भएको छ । प्रदेश इञ्चार्जलाई एक उम्मेदवार छनोट गर्न तीन तीनजनाको दरले सिफारिस गर्न दिइएको निर्देशनअनुसार सम्भाव्य उम्मेदवारको नाम प्राप्त भएको जानकारी दिँदै उहाँले आजसम्म पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाइसक्ने बताउनुभयो । 

राष्ट्रियसभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणालीबमोजिम हुनेछ । नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रियसभा स्थायी सदन हुनेछ । राष्ट्रियसभाको पदावधि छ वर्षको हुनेछ तर यो संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम रहनेछ । 

धारा ८६ अनुसार यस सभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठजना गरी निर्वाचित ५६ जना रहन्छन् त्यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीनजना गरी जम्मा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!