कानून सिक्न जनप्रतिनिधी सुर्खेतमा

Posted on: 23 Jan, 2018

माघ ९, सुर्खेत । प्रदेश नम्बर ६ अन्तर्गत रहेका ५४ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु यतिवेला सुर्खेतमा छन् । 

उनीहरु स्थानीय सरकार सञ्चालनका लागि आवश्यक विषयगत कानून निर्माण सम्बन्धी ३ दिने कार्यशाला गोष्ठिका लागि सुर्खेतमा आएका हुन् । मंगलबारदेखि शुरु भएको उक्त गोष्ठी बिहीबारसम्म सञ्चालन हुनेछ ।


कार्यशालामा गाउँपालिका सञ्चालनमा देखिएका चुनौती र त्यसलाई समाधानका उपायहरुका बारेमा समेत छलफल हुने गाउँपालिका महासंघ प्रदेश ६ का अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए । 

उनले स्थानीय तह स्थापना भएको लामो समयसम्म पनि गाउँपालिका सञ्चालनमा अन्यौलता देखिएकाले विषयगत कानून अनिवार्य भएको बताए । यो कार्यशाला गोष्ठीबाट गाउँपालिकामा विभिन्न कार्यालयहरु सञ्चालन गर्न सहज हुने बताउँदै स्थानीय सरकार सञ्चालनका लागि यो गोष्ठी महत्वपूर्ण हुने बताए ।

नेपालमै पहिलो पटक सञ्चालन हुन लागेको विषयगत कानून निर्माण सम्बन्धी कार्यशाला गोष्ठीमा राज्य पुर्नसंरचना आयोगका अध्यक्ष तथा संघीय मामिलाविज्ञ काशीराज दाहाल, खाद्यका लागि कृषि अभियान संयोजक तथा कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेल, शिक्षा नीति तथा अभ्यास केन्द्रका संयोजक तथा शिक्षा विद् टीका भट्टराई र स्वास्थ्य विज्ञ डा.निर्मला शर्माले सहजीकरण गरिरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!