प्रदेश नं १ मा माघ २९ गते सभामुखको निर्वाचन

Posted on: 03 Feb, 2018

माघ २०, मोरङ । प्रदेश नं १को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको आज बसेको बैठकले प्रदेशको सभामुख, उपसभामुखको निर्वाचनको मिति निर्धारण गर्नाका साथै माघ २२ गते हुन गइरहेको प्रदेशसभा सञ्चालनसम्बन्धी विभिन्न निर्णय गरेका छन् । 

प्रदेश नं १ का ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा विराटनगरस्थित जिल्ला समन्वय समितिमा बसेको बैठकले माघ २९ गते सभामुख र फागुन ३ गते उपसभामुखको निर्वाचनको मिति निर्धारण गरेको छ । दुवै निर्वाचनको मिति दिउँसो १ बजेदेखि हुने संघीय सचिवालयका उपसचिव सहजित राईले जानकारी गराउनुभयो । 

सभामुख र उपसभामुखको निर्वाचनको एक दिन पहिले प्रदेशको सचिवालयमा उम्मेदवारी दर्ता गरिने उहाँले जानकारी गराउनुभयो । 

सो बैठकले प्रदेशसभा सञ्चालनका लागि अन्तरिम कार्यविधि पास गरेको छ र सभामुखलाई सहयोग गर्नका लागि अध्यक्षता मण्डलको आवश्यकता रहेकाले पाँच सदस्यीय एउटा समिति पनि गठन गरेको छ । सो समितिमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) संघीय समाजवादी फोरम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक÷एकजना प्रदेशसभा सदस्य रहने निर्णय गरिएको हो । 

त्यस्तै, माघ २२ गते प्रदेशसभा सञ्चालन हुनका लागि प्रदेश प्रमुखको पत्र पढिनेछ र त्यसपछि, प्रदेशसभामा छ दलका एक÷एकजना प्रदेश सदस्य र एक स्वतन्त्र सदस्यले शुभकामना मन्तव्य दिनुहुनेछ । 

शुभकामना मन्तव्य दिनु हुनेमा नेकपा (एमाले)का भीम आचार्य, नेपाली काँग्रेसका केदार कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुबहादुर तुम्बाहाम्फे, संघीय समाजवादी फोरम नेपालका जयराम यादव, नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बो र स्वतन्त्र नारायणबहादुर मगर हुनुहुन्छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!