प्रदेश ६ को पहिलो प्रदेशसभा बैठक, समृद्ध प्रदेश बनाउने साँसदहरुको प्रतिबद्धता

Posted on: 04 Feb, 2018

माघ २१, सुर्खेत | ६ नम्वर प्रदेशको पहिलो प्रदेशसभा बैठक आइतबार सम्पन्न भएको छ । डिभिजन सिंचाईको सभाहलमा बसेको पहिलो बैठकमा बोल्ने राजनीति दलहरुले अबको ५ बर्षमा ६ नम्बर प्रदेशलाई मुलुकै समृद्ध प्रदेश बनाउने प्रतिबद्धता जनाएका छन् ।

जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले पहिलो बैठकले प्रदेश सभामा अन्तरीम कार्यविधी सर्वसम्मतीले पारित गरेको छ। सिँचाइ डिभिजन कार्यालय सुर्खेतको भवनमा दिउँसो १ बजे सुरुभएको वैठक झण्डै १ घण्टा बसेको थियो। यसअघि, प्रदेश सभाको पहिलोे अधिवेशनमा सहभागी हुन आउने सांसदलाई खादा लगाएर संसद् सचिवालयले स्वागत गरेको थियो।

मूल ढोकादेखि सभाहलको ढोकासम्म रातो कार्पेट बिछ्याइएको थियो। सभाहलमा बैठक सुरु भएलगत्तै राष्ट्रिय गान बजाइएको थियो। त्यसपछि प्रदेश प्रमुखले अधिवेशन आव्हन गरेको पत्र पढेर सुनाए। लगत्तै सहिदप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरियो। त्यसपछि अन्तरिम कार्यविधि सर्वसम्मत पास भयो। अनि दलका तर्फबाट वोल्नेक्रम सुरु भएको थियो। प्रदेश सभाको पहिलो अधिवेशन भएकोले दर्शकको भिड हुने अनुमान गरी प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको थियो।


ठाउँ अभाव भएको भन्दै पत्रकारहरुले टेलिभिजन हेरेर रिपोर्टिङ गरेका थिए। भित्र पस्नका लागि पत्रकारहरुलाई विशेष पासको व्यवस्था गरिएको थियो। बैठक सञ्चालनका लागि २० जना मर्यादापालक खटिएको प्रहरी नायव उपरीक्षक वीरबहादुर ओलीले बताए। पहिलो प्रदेश बैठकलाई एमालेका यमलाल कँडेल, माओवादीबाट महेन्द्रबहादुर शाही, नेपाली काँग्रेसका जीवनबहादुर शाही र राप्रपाबाट शोशीला शाहीले सम्बोधन गरेका थिए। उनीहरु सबैले प्रदेश ६ को विकासका लागि मिलेर काम गर्नेमा जोड दिएका छन्।

आइतबार सुर्खेतमा आयोजित पहिलो प्रदेशसभा बैठकमा बोल्ने ४ दलका प्रदेश सांसदहरुले अब राज्यव्यवस्था पनि परिवर्तन भइसकेको भन्दै अब प्रदेशका स्रोत र साधनको प्रयोग गरेर प्रदेश समृद्धिको बाटोमा लाग्ने बताएका छन् ।ठूलो भूगोल र स्रोत साधनको सम्भावनालाई अवसरका रुपमा लिँदै भौगोलिक विकटताको चुनौतीलाई छिचोल्न सबै एक हुनुपर्नेमा उनीहरुले जोड दिए ।भोक, रोग र शोकमा रहेको सबैभन्दा गरिब प्रदेशको प्रतिनिधित्व गर्नु चुनौतिपूर्ण भए पनि अब समृद्ध प्रदेश बनाउनुपर्ने अभिभारा आफूहरुमा आएकाले गरिब प्रदेशको परिचय मेटाउनुपर्ने बताएका छन् ।

प्रदेश सभा बैठकमा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका साँसद महेन्द्रबहादुर शाहीले ६ नम्बर प्रदेश जनताको आन्दोलनबाट प्राप्त भएको कान्छो प्रदेश भएकोले अब यस क्षेत्रको विकास र समृद्धि हामी सबैको प्राथमिकता हुनु पर्नेमा जोड दिए । ६ नं. प्रदेश रोग, भोक र शोकबाट ग्रसित भएको भन्दै यसको दोषि राज्य भएको उनको आरोप छ । यो प्रदेशमा भएको स्रोत साधनका कारण यहाँका नागरिक गरीब हुनुपर्ने र पछि पर्नुपर्ने कारण नभए पनि अरु सबै प्रदेशभन्दा जिम्मेवारी चुनौतीपूर्ण भएको उनले बताए । प्रदेशको समृद्धिका लागि सबै एक भएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै उनले अरुलाई गाली गरेर यो प्रदेश बनाउन नसकिने भएकाले सबै मिलेर प्रदेशको समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता औल्याए ।

नेकपा एमालेका यामलाल कँडेलले प्रदेश नम्बर ६ जनताको र हाम्रो चाहनाबाट प्राप्त भएको भन्दै अब यसलाई सुन्दर र सबल प्रदेश बनाउने अभिभारा नागरिकलेसुम्पेको बताए । सामान्य सिटामोल खान नपाएर जीवन बिताउनु पर्ने अवस्थायो प्रदेशमा भएको चर्चा गर्दै यो अवस्थामा पाएको जिम्मेवारी पुरा गर्न सबै मिल्नु पर्ने उनले बताए ।

नेपाली काँग्रेसका जीवनबहादुर शाहीले यो प्रदेश आज पनि सबैभन्दा पछाडि परेको भन्दै हामी किन गरिब भयौं ? त्यसको जवाफ समृद्धी ल्याएर दिनु पर्ने बताए । उनले अहिले पनि ६ नम्बर प्रदेशलाई हेयको दृष्टिले हेरिएको भन्दै यसको खोजी गर्ने र समृद्ध प्रदेश बनाउने जिम्मेवारी आएको बताए । ‘हामीले नै अब प्रदेशको जिम्मा लिनु पर्छ’ उनले भने, ‘हुन त हामी प्रतिपक्षमा रहन्छौं । प्रतिपक्षमा रहेतापनि प्रदेशको समृद्धि र विकासका लागि पक्षविपक्ष हुनेछैनौं ।’

राप्रपा साँसद शोसिला शाहीले पृथ्वीनारायण शाहले निर्माण गरेको देश अहिले यहाँसम्म आएको भन्दै अब प्रदेश निर्माणका लागि हामी इमान्दारी पूर्वकरुपमा लाग्नुपर्नेमा जोड दिईन ।अर्को बैठक माघ २९ गते दिउँसो १ बजे सम्मका लागि स्थगित भएको सभाका ज्येष्ठ सदस्य हिमबहादुर शाहीले घोषणा गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!