प्रदेश ४ को पहिलो बैठकमा राष्ट्रनिर्माताको स्मरण

Posted on: 06 Feb, 2018

माघ २३, पोखरा । प्रदेश नं ४ को प्रदेशसभाको सोमबार सम्पन्न पहिलो बैठकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै उहाँप्रति सम्मान व्यक्त गरिएको छ । 

बैठकमा पहिलो वक्ताका रुपमा प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आधुनिक नेपालको सीमा निर्धारण गर्ने सन्दर्भमा साम्राज्यवाद विरुद्ध खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । 

सांसद गुरुङले भन्नुभयो– “हामी आज जुन ठाउँमा उभिएर बैठक गर्दैछौँ, यो त्यस्तो प्रदेश हो, जहाँबाट राष्ट्रिय एकीकरणको अभियान शुरु गरेर आधुनिक नेपालको निर्माण भएको थियो ।” 

राष्ट्रिय स्वाधिनताको मुद्दामा प्रदेशसभा अखण्ड, एकीकृत र समृद्ध नेपाल निर्माण गर्ने काममा प्रतिबद्ध रहने विश्वास पनि उहाँले दिलाउनुभयो । अर्का वक्ता किरण गुरुङले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकै कारण आज हामी नेपाली भनेर गर्वका साथ बाँच्न पाएका छौँ भन्नुभयो । 

उहाँले भन्नुभयो– “गोर्खा राज्य विस्तारको नेतृत्व पृथ्वीनारायणले गर्नुभएको थियो, म यतिबेला सर्वप्रथम उहाँलाई स्मरण गर्दै सम्मान गर्न चाहन्छु, ।” उहाँहरु दुवैजना वक्ता प्रदेश नं ४ का मुख्य मन्त्रीका दावेदार पनि हुनुहुन्छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!