प्रदेश ६ मा राष्ट्रियसभा निर्वाचन सम्पन्न, ४ बजेदेखि मतगणना शुरु

Posted on: 07 Feb, 2018

माघ २४, सुर्खेत | आज बिहान १० बजेबाट शुरु भएको प्रदेश नं ६ को राष्ट्रियसभाको निर्वाचन १:३० बजे सम्पन्न भएको छ । 

जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो । प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिले दुई छुट्टाछुट्टै मतदान केन्द्रमा मत हाल्ने काम गरेका थियो । (क) र (ख) गरी दुईवटा मतदान केन्द्र रहेका थिए । हरियो रङ अंकित (क) मतदान केन्द्रमा ४० जना प्रदेशसभा सदस्य र रातो रङ अंकित (ख) केन्द्रमा स्थानीय तहका प्रमुख, उपप्रमुख÷अध्यक्ष, उपाध्यक्ष गरेर १९८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिनुभयो । 

“चुनाव उत्साह र शान्तिपूर्ण तरिकाले भएको छ, दिउँसो ३ बजेसम्म मतदान गर्ने समय भए पनि डेढ घण्टाअघि नै चुनाव सम्पन्न भएको छ, अब  बजेदेखि मतगणना शुरु हुन्छ,” मुख्य निर्वाचन अधिकृत पौडेलले भन्नुभयो । 

उहाँका अनुसार चुनावमा नेकपा (एमाले)बाट प्रदेश सांसद २० र स्थानीय तहका जनप्रतिनिधि ५५, नेपाली काँग्रेसका प्रदेश सांसद छ जना र स्थानीय तह जनप्रतिनिधि ५१, नेकपा (माओवादी केन्द्र)का प्रदेश सांसद १३ र स्थानीय तहका जनप्रतिनिधि ५२ र राप्रपाको एक प्रदेश सांसदले मतदान गरेका थिए । 

मतदानस्थल जिल्ला निर्वाचन कार्यालय सुर्खेत बाहिर मतदाताभन्दा शुभचिन्तक, समर्थक, कार्यकर्ताको निकै उत्साहपूर्ण सहभागिता रहेको थियो । निर्वाचनको मतपरिणाम भोलि बिहानसम्म आइपुग्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!