प्रदेश ७ बाट एमालेका स्नेही र माओवादीका महरा विजयी

Posted on: 07 Feb, 2018

माघ २४, धनगढी । ७ नं प्रदेशमा आज राष्ट्रियसभाका सदस्यका लागि भएको निर्वाचनमा नेकपा (एमाले)का चक्रप्रशाद स्नेही र नेकपा (माओवादी केन्द्र)का महेशकुमार महरा निर्वाचित हुनुभएको छ । 

निर्वाचन अधिकृत जयानन्द पनेरुले दलित समूहका तर्फबाट विजयी एमालेका स्नेहीले स्थानीयतर्फ १२२ र प्रदेशसभातर्फ ३९ मत प्राप्त गरी विजयी हुनु भएको जानकारी दिनुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शेरीराम पार्कीले स्थानीय तर्फ ७३ र प्रदेशतर्फ १२ मत पाउनु भएको थियो । 

यस्तै अल्पसंख्यक तथा अपाङ्गतर्फ माओवादी केन्द्रका महरा विजयी हुनु भएको छ । उहाँले स्थानीयतर्फ १२२ र प्रदेशसभातर्फ ३९ मत पाउनु भएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका छत्रराज जोशीले स्थानीयतर्फ ७४ र प्रदेश सभा तर्फका १२ मत पाउनु भयो । 

निर्वाचनमा स्थानीयतर्फको एक मत बदर भएको निर्वाचन अधिकृत पनेरुले बताउनुभयो । 

७ नं प्रदेशको कुल मतदाता २२९ मध्ये २२७ मतदाताले मतदान गरेका थिए । स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र प्रदेशसभाका सांसद राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता हुने व्यवस्था छ । 

प्रत्येक प्रदेशबाट राष्ट्रिय सभाका आठ सांसद हुनुपर्नेमा ७ नं प्रदेशवाट खुल्लातर्फ काँग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम चौधरी र महिला सदस्यमा एमालेकी इन्दु कडरिया तथा कमलाकुमार ओली, काँग्रेसकी तारादेवी भट्ट यसअघि निर्विरोध निर्वाचित भइसक्नु भएको छ । डोटीको सिलगढीमा निर्वाचन भएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!