कालिकोटका स्थानीय तह निमित्तकै भरमा सञ्चालन

Posted on: 09 Feb, 2018

माघ २६, कालिकोट । स्थानीय तहहरु विगत लामो समयदेखि निमित्तकै भरमा सञ्चालन हुँदै आएका छन् । 

स्थानीय सरकारको रूपमा रहेको स्थानीय तहमा कर्मचारीको अभाव भएपछि ती कार्यालयहरु निमित्तको भरमा सञ्चालन हुँदै आएका छन् ।

कालिकोटका ९ वटा स्थानीय तह मध्ये  ५ वटा स्थनीय तहले लामो समयदेखि निमित्तकै भरमा आफ्नो कामकार्वाही सञ्चालन गर्दै आएको जिल्ला समन्वय समिति कालिकोटले जनाएको छ । 

कालिकोट जिल्लाका खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका र कालिका गाउँपालिका बाहेकका पलाता गाउँपालिका, पचालझरना गाउँपालिका, शान्नित्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका र महाँवै गाउँपालिका गरी पाँच वटा स्थानीय तह निमित्तकै भरमा सञ्चालन भईरहेका छन् ।

यि सवै गाउपालिकाहरु गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन यता निमित्त कार्यालय प्रमुखकै भरमा सञ्चालन हुँदै आएका छन् । जिल्ला समन्वय समिति कालिकोटका अनुसार जिल्लामा अधिकृत स्तरको कर्मचारीहरुको अभावका कारण निमित्त प्रमुखको जिम्मेवारी दिएर नासु सो सरहका कर्मचारीहरुलाई दिएको छ । 

स्थानीय सरकारका रुपमा परिचित स्थानीय तह नै निमित्त कर्मचारीको भरमा सञ्चालन हुँदा सेवा प्रवाह प्रभाकारी हुन नसकेको सेवाग्राहीको गुनासो छ ।

सरकारले गाउँपालिकामा शाखा अधिकृतलाई कार्यकारीको भूमिकामा खटाउने भने पनि कालिकोटजस्ता दुर्गम जिल्लाहरुमा कर्मचारीको अभावका कारण समस्या भएको छ । 

जनप्रतिनिधिको काम नितीगत निर्णय गर्ने र कर्मचारीको काम कार्यान्वयन भए पनि योजनाको प्रभावकारी कार्यान्वय हुन नसकेको जनप्रतिनिधिहरु बताउन थालेका छन्  ।

कार्यकारी र मातहतका कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या भएको पचालझरना गाउपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए । उनले विगतका गाविस सचिव नै अहिले निमित्त कार्यकारी अधिकृत भएर कार्य सञ्चालन भईरहँदा आफुलाई आवश्यक पर्ने नीतिगत सहयोग तथा अहिलेको प्रविधिसँग जोडिएर सेवा प्रवाह गर्न समस्या भएको बताए । गाउँपालिकाका कर्मचारीको दोहोरो जिम्मेवारी भएका कारण काममा ढिला हुने गरेको बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!