यी हुन् प्रदेश ६ बाट निर्वाचित राष्ट्रियसभा सदस्य

Posted on: 09 Feb, 2018

माघ २६, सुर्खेत | राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं ६ बाट निर्वाचित भएका वाम गठबन्धनका उम्मेदवार विभिन्न पृष्ठभूमिबाट आएका छन् । 

महिला तथा खुला सदस्य तीन÷तीन र अपांग÷अल्पसंख्यकमा एक र दलितमा एक गरी राष्ट्रियसभामा आठजना निर्वाचित भएका छन् । वाम गठबन्धनको भागबण्डाअनुसार यो प्रदेशमा नेकपा (एमाले)का तर्फबाट खुलातर्फ रुकुम पश्चिमका ठगेन्द्र पुरी, जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, महिलातर्फ हुम्लाकी कविता बोगटी, सुर्खेतकी नन्दा शर्मा (चपाई) र दलिततर्फ कालीकोटका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । 

माओवादी केन्द्रबाट खुलातर्फ जाजरकोटका कालीबहादुर मल्ल, महिलातर्फ मुगुकी युटुल तामाङ र अपांग÷अल्पसंख्यकतर्फ कालीकोटका जीवनबहादुर बुढा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । 

एकल संक्रमणीय प्रणालीअनुसार खुला तथा महिलातर्फ निर्धारण गरिएको मतभार एक हजार १६२ क्रस गरी उहाँहरु विजयी भएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यसैगरी, बहुमतीय प्रणालीअनुसार अपांग÷अल्पसंख्यक र दलित सदस्य निर्वाचित भएका थिए । 

उपप्रधानपञ्चदेखि राष्ट्रियसभा सांसद सम्म 

कालीकोटका नरपति लुहार राष्ट्रियसभाको सदस्यको निर्वाचनमा वाम गठबन्धनका तर्फवाट प्रदेश ६ बाट विजयीको खाता खोल्न सफल राष्ट्रियसभाको सदस्य हुनुभएको छ । राष्ट्रियसभाको सदस्यमा विजयी नरपति लुहार उपप्रधानपञ्च, वडाध्यक्ष हुँदै राष्ट्रियसभाको सांसद बन्नुभएको छ । बहुदल आएपछि एमालेको राजनीतिमा लाग्नुभएका लुहारलाई नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्यका उम्मेदवार बनाएको हो । २०४४ सालमा कालीकोट जिल्लाको स्युना गाउँ पञ्चायतको उपप्रधानपञ्चमा उहाँ विजयी हुनुभएको थियो । 

२०५४ सालमा साविकको स्युना गाविसमा एमालेबाट वडाध्यक्षमा विजयी हुनुभएको थियो । २०५३ सालमा एमालेको कालीकोट जिल्ला कमिटी सदस्य हुनुभएका लुहार हाल एमाले निकट जातीय मोर्चाको जिल्ला अध्यक्ष र कालीकोट जिल्ला कमिटी सदस्य हुनुहुन्छ । राष्ट्रिसभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट ६ नं प्रदेशबाट विजयको खाता खोल्न सफल लुहारले तीन हजार ६६६ मत ल्याएर आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मित्रलाल सार्कीलाई पराजित गर्नुभएको थियो । 

जनसेनाको कमाण्डर हुँदै राष्ट्रियसभाको सदस्य 

प्रदेश ६ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित नरहरिनाथ गाउँपालिका–२ कालीकोटका जीवनबहादुर बुढा तत्कालीन नेकपा (माओवादी) जनयुद्धका सेना कमाण्डर हुँदै राष्ट्रियसभाको सदस्यमा चुनिनुभएको छ । सानैमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएका बुढा २०५२ सालमै पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । 

२०५३ कात्तिकमा छापामार दलको सदस्य हँुदै बुढा माओवादी जनासेनामा भर्ना हुनुभएको थियो । बुढा २०६० सालमा माओवादी जनसेनाका बिग्रेड कमाण्डर हुँदै २०६१ को अन्तमा सातौँ डिभिजन सहकमाण्डर बन्नुभएको थियो । शान्ति प्रक्रियासँगै भएको माओवादी सेनाको व्यवस्थापन हुँदा उहाँले क्यान्टनमेन्टमा सेनाको नेतृत्व गर्नुभयो । 

उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा सचिवालयमा रहेर काम गरिसक्नुभएको छ । उहाँ अहिले नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य हुनुहुन्छ । सेना हुँदाका सबै साथीहरुले समायोजन रोज्दा आफूले राजनीति रोजेको उहाँले बताउनुभयो । “म राजनीति गर्न युद्धमा गएको हो, जागीर खान होइन, त्यसैले मैले सेना समायोजन प्रक्रियालाई अँगालिन,” उहाँले भन्नुभयो । 

शिक्षक जागिर छोडेर राष्ट्रिय सभा सदस्य 

भेरी नगरपालिका–४ जाजरकोट निवासी कालीबहादुर मल्ल नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य हुनुहुन्छ । २०३४ सालदेखि शिक्षक पेशामा लागेका उहाँ २०४३ मा जागिर छोडेर राष्ट्रिय जनमोर्चाबाट राजनीतिक जीवन शुरु गर्नुभएको थियो । २०४९ सालमा जिल्ला विकास समिति जाजरकोटको सदस्यमा निर्वाचित हुनुभएको उहाँ २०५२ सालदेखि नेकपा (माओवादी) राजनीतिमा होमिनु भएको थियो । 

२०६४ सालको संविधानको सभाको निर्वाचनमा विजयी हुनुभएका उहाँले यस पटक राष्ट्रियसभा निर्वाचनको खुला सदस्यमा जित हात पार्नुभएको छ । 

त्यसैगरी, जाजरकोट भेरी नगरपालिका–४ निवासी भैरवसुन्दर श्रेष्ठ मावि स्थायी शिक्षकको जागिर छोडेर २०४७ सालमा राजनीतिमा लाग्नुभएको हो । श्रेष्ठ तत्कालीन नेकपा (माले)को संस्थापक जिल्ला संयोजक हुनुभयो । निरन्तर पार्टी संगठनको राजनीति गर्दै आउनुभएका श्रेष्ठ नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएको थियो । 

श्रेष्ठ २०४९ मा जिल्ला विकास समिति जाजरकोटको उपसभापति र २०५४ सालमा सभापतिमा निर्वाचित हुनुभएको थियो । पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्दैगर्दा अनेरास्वयिुबाट राजनीति यात्रा शुरु गर्नुभएकाले उहाँ यस पटकको राष्ट्रियसभाको खुला सदस्यमा निर्वाचित हुनुभएको छ । 

निर्वाचित सदस्य मल्ल र श्रेष्ठ दुवै एउटै वडाका हुनुहुन्छ । २०४९ सालमा जिल्ला विकास समिति जाजरकोटको उपसभापतिमा श्रेष्ठ र सदस्यमा मल्ल निर्वाचित हुनुभएको थियो । मितेरी नाताका दुवैले २५ वर्षपछि पुनः एकै सभामा निर्वाचित हुनुभएको छ । 

जिविस उपसभापति हुँदै राष्ट्रियसभा सदस्य 

एमालेको विद्यार्थी तथा युवा राजनीतिबाट पार्टी राजनीतिमा आउनु भएका ठगेन्द्र पुरी रुकुम (पश्चिम) बाँफिकोट गाउँपालिका निवासी हुनुहुन्छ । पुरी एमालेका तर्फबाट २०५४ सालमा जिविस रुकुमको उपसभापतिमा जित्नुभएको थियो । पार्टीको तत्कालीन रुकुम जिल्ला कमिटी अध्यक्ष हुँदै निरन्तर राजनीतिमा लाग्नुभएका राष्ट्रियसभाको खुला सदस्यमा निर्वाचित उहाँ हाल एमाले ६ नं प्रदेश कमिटी सदस्य हुनुहुन्छ । 

कविता बोगटी अदानचुली गाउँपालिका–२ हुम्ला निवासी हुनुहुन्छ । उहाँ नवलपरासीमा उच्च शिक्षा पढ्दै गर्दा अनेरास्ववियु हुँदै अनेम संघबाट पार्टी राजनीतिमा लाग्नुभएको थियो । हाल उहाँ एमाले निकट कर्णाली–काठमाडौँ सम्पर्क मञ्चको सदस्य हुनुहुन्छ । वाम गठबन्धनका तर्फबाट राष्ट्रियसभाको महिला सदस्यमा निर्वाचित हुनुभएको छ । 

लामा समुदायबाट पहिलो महिला सदस्य 

युटुल तामाङ (लामा) मुगु जिल्लाको कार्मारोङ गाउँपालिका निवासी हुनुहुन्छ । उहाँ मुगु जिल्लाको लामा समुदायबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित पहिलो महिला सदस्य हुनु भएको छ । माओवादी केन्द्र निकट अनेम संघ (क्रान्तिकारी) हुँदै पार्टी राजनीति सुरु गरेकी उहाँ संघको मुगु जिल्ला अध्यक्ष हुनु भएको थियो । 

राष्ट्रियसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी) निकट उहाँले लामा मुक्ति मोर्चाको सचिवका रुपमा काम गर्नुभएको थियो । २०६४ सालको संविधानसभाको समानुपातिक सदस्यमा निर्वाचित तामाङ हाल नेकपा (माआवादी केन्द्र)को महाधिवेशन आयोजक समिति सदस्य हुनुहुन्छ । 

पञ्चायतविरुद्ध लडेकी शर्मा पनि सदस्य 

सुर्खेतका ग्रामीण भेकमा तत्कालीन पञ्चायती शासनविरुद्ध भूमिगत संघर्ष गर्दै आउनुभएकी नन्दा शर्मा (चपाई) पञ्चपुरी गाउँपालिका–३ सुर्खेत सालकोट निवासी हुनुहुन्छ । उहाँ वाम गठबन्धनका तर्फबाट राष्ट्रिय सभाको महिला सदस्यमा निर्वाचित हुनु भएको छ । 

२०३५÷०३६ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेकी शर्मा अनेम संघको जिल्ला अध्यक्ष हुँदै हाल नेकपा (एमाले)कोे ६ नं प्रदेश कमिटी सदस्य तथा अनेम संघको केन्द्रीय सदस्य हुनुहुन्छ ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!