प्रदेश ७ का सभामुख - 'सबैको भावनालाई समेटेर काम गर्नेछु'

Posted on: 12 Feb, 2018

माघ २९, धनगढी (रासस) | प्रदेश नं ७ का नवनिर्वाचित सभामुख अर्जुनबहादुर थापाले आफूले सत्तापक्ष र प्रतिपक्ष दुवैको भावनालाई समेटेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

प्रदेशसभाको आज बसेको बैठकबाट सभामुखमा निर्वाचित भएपछि प्रदेशसभा भवन धनगढीमा पत्रकारसँग कुरा गर्दै सभामुख थापाले धेरै नियम कानून बनाउनुपर्ने हुँदा सवै सांसदसँग छलफल गरी अघि बढ्नेछु भन्नुभयो । सभामुख थापाले आजै प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । 


बझाङ खप्तडछान्ना गाउँपालिका–२ मा २०१२ सालमा जन्मिनुभएका थापाले २०२८ देखि २०५५ सालसम्म तीन विद्यालयमा शिक्षण गर्नुभएको थियो । उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठन बझाङका संस्थापक हुनुहुन्छ । उहाँ शिक्षा शास्त्रमा स्नातक हुनुहुन्छ । बझाङमा नेकपा(एमाले) सचिवको जिम्मेवारी लिइसक्नुभएका उहाँ हाल एमाले प्रदेश संगठन समितिका सदस्य हुनुहुन्छ । उहाँ गत मंसिर १० गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बझाङ कबाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो । 

यसैबीच उपसभामुखको निर्वाचन फागुन ५ गते बिहान १० बजे हुने सचिवालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!