कर्णाली बनाउन प्रदेशमा झरेको हुँः सांसद शाही

Posted on: 13 Feb, 2018

फागुन १, सुर्खेत (रासस) | हुम्ला (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका जीवनबहादुर शाहीले कर्णाली बनाउन आफू प्रदेशमा झरेको बताउनुभएको छ । 

यस प्रदेशका नागरिकको समृद्धि र विकासलाई ध्यानमा राखेर प्रदेश झरेको बताउँदै उहाँले “प्रथमतः यो प्रदेशको मुख्यमन्त्रीको भूमिकामा रहेर काम गर्न हुम्ली जनताले मलाई निर्वाचित गरेका थिए तर मुलुकमै नेपाली काँग्रेसको अनपेक्षित पराजयको परिणामले यो अवसर गुम्यो, तथापि प्रदेश निर्माणको सवालमा हामीले महत्वपूर्ण प्रतिपक्षको भूमिका पाएका छौँ,” भन्नुभयो । 

“६ नं प्रदेशको ५२ प्रतिशत गरिबी घटाएर सम्पन्न प्रदेश बनाउनु सामान्य कुरा छैन, यसमा सबै जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले साझा भूमिका निर्वाह गर्नुपर्दछ,” रासससँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “यो प्रदेशको समृद्धिका लागि विगतको राजनीतिक संस्कारमा परिमार्जन आउनुपर्दछ ।” 

पूर्वसंस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री शाहीले यो प्रदेशको अर्थतन्त्र बलियो बनाउन उत्पादनमा वृद्धि र उद्योगधन्दाको विकास गर्नुपर्ने बताउँदै जनताको कर असुलेर अर्थतन्त्र बलियो नहुने धारणा व्यक्त गर्नुभयो । 

दूरदर्शी र दीर्घकालीन महत्वका योजना बनाउन सके कर्णालीको बाटो र ढुंगामा पनि पैसा लुकेको छ, उहाँले भन्नुभयो, “यो प्रदेशको समुन्नतिका लागि सबैभन्दा ठूलो कुरा मानव संसाधन हो, यसको भरपुर प्रयोग हुनुपर्दछ ।” 

पैसाका लागि योजना माग्ने संस्कार पूर्ण रुपले अन्त्य गर्न सक्नुपर्दछ, सांसद शाहीले भन्नुभयो– “साना तिने टप्के र पट्के योजनाले धुलो उडाउने र भ्रष्ट प्रवृत्ति एवम् पात्र बाहेकको विकास नहुने हुँदा दूरगामी महत्वका योजनालाई विशेष प्राथमिकता दिनुपर्दछ ।” 

प्रदेशको समृद्धि र समुन्नतिका लागि बाटो, बिजुली, विचार (सञ्चार), वन, बजार र व्यवस्थापनजस्ता ६ वटा ‘ब’ मा विशेष ध्यान दिनुपर्नेमा जोड दिदैं जल, जंगल, जडीबुटी, पर्यटन, कृषि, खानी, खनिजयुक्त यो प्रदेशको सामान्य ढुंगामा पनि धन रहेको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!