एमाले माओवादी एकता निर्णायक हुँदै, एकता प्रक्रिया निष्कर्षको नजिक

Posted on: 14 Feb, 2018

फागुन २, काठमाडौँ | पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आन्तरिक गृहकार्यलाई निर्णायक बनाएका छन् । 

आज बस्ने पार्टी एकता संयोजन समितिको बैठक पूर्व दुवै पार्टीको छुट्टाछुट्टै स्थायी कमिटी र केन्द्रीय कार्यालय बैठक चलिरहेको छ । ललितपुरको मानभवनस्थित एक निजी घरमा एमाले स्थायी कमिटीको बैठक बसिरहेको सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । 

पार्टी एकतालाई अन्तिम रुप दिन आजै बिहान माओवादी केन्द्रको वरिष्ठ नेताको अनौपचारिक बसेको बुझिएको छ । आन्तरिक छलफल चलिरहेकाले दिउँसो २ बजेका लागि तय गरिएको एकता संयोजन समितिको बैठक केही समय पछि सरेको छ । 

दुवै पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अघि गरेको सहमतिबमोजिम एकता प्रक्रिया निष्कर्षमा पुग्न लागेको हो । यी दुई दलले पार्टी एकतासँगै नयाँ सरकार गठनको प्रक्रियालाई पनि सँगै अगाडि बढाएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!