प्रजातन्त्र, यसप्रतिको आस्था र जनसरोकार

Posted on: 19 Feb, 2018

फागुन ७, सुर्खेत | बुझाइमा प्रजातन्त्र र लोकतन्त्रमा भिन्नता देखिए पनि सामान्यत त्यसको अर्थमा विविधता छैन । अंग्रेजीमा लोकतन्त्र र प्रजातन्त्र दुबैलाई ‘डेमोक्रेसी’ नै भनिन्छ । तर नेपालीमा प्रजातन्त्रभन्दा लोकतन्त्रलाई परिस्कृत शासन व्यवस्थाका रुपमा लिइने गरिएको छ । 

राजा र प्रजाको ठूलो संघर्षबाट नेपालमा जहाँनिया राणाशासनको अन्त्य गरी २००७ मा स्थापना गरेको प्रजातान्त्रिक व्यवस्था ऐतिहासिक महत्वको घटना हो । यद्यपि त्यही गौरवपूर्ण घटना औपचारिकतामा सीमित हुँदै गएको छ । प्रजातन्त्रको अभ्यूदयपश्चात् मात्र नेपाली जनताले स्वतन्त्रताको महसुश गर्न थालेको दिनको महत्व र गरिमाप्रति चासो घट्दै जानुमा कारण के हो भन्ने विषयमा कोही कसैले त्यति सरोकार राखेको देखिँदैन । राणाकालीन १०४ वर्षको शासनविरुद्ध अनवरत संघर्ष गरेका नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट मुलुकमा प्रजातन्त्रको प्रादुर्भाव भएपछि मात्र नेपालमा राजनैतिक संगठनहरु उम्रन थालेको पाउन सकिन्छ । 

यद्यपि प्रजातन्त्र प्राप्तिपछि नेपालमा भएका विभिन्न परिवर्तनले प्रजातन्त्र दिवसलाई ऐतिहासिक एवम् महत्वपूर्ण घडीको रुपमा मनाउन छोडेको पाइन्छ । त्यसको अलावा प्रजातन्त्रलाई परम्परागत दिवसका रुपमा मात्र हेर्नेहरु पनि त्यत्तिकै छन् । प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनाल नेपालमा प्रजातन्त्र आएको दिन देश र जनताका लागि अत्यन्तै महत्वपूर्ण घटना भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “लोकतन्त्र उरन्ठेउलाहरुको विचार हो । नेपालमा प्रजातन्त्र आउँदा देशले ठूलो फड्को मारेको थियो ।” 

उहाँले थप्नुभयो, “वामपन्थीहरुले २००७ र २०४६ सालको क्रान्तिलाई अपूरो ठान्दै आए जसका कारण सानो देशमा ठूलो समस्याको चाङ लागिरह्यो र पछि गएर त्यो नै देश विकास र समृद्धिको बाधक बन्यो । तसर्थ गम्भीरताका साथ मनन गर्दै ऐतिहासिक महत्व बोकेको उपलब्धिपूर्ण प्रजातन्त्र दिवसलाई सम्मानका साथ मनाउनुपर्छ ।” प्रजातन्त्र र लोकतन्त्र मात्र सोचाइमा अन्तर भएको उहाँको भनाइ थियो । उहाँले प्रजातन्त्रको स्थापनापछि आफूले पहिलो पटक २०१४ सालतिर सुर्खेतमा डा के आई सिंहले स्पिकरमा बोलेको सुन्दा वास्तविक बोलीभन्दा स्पिकरको आवाज अनौठो मान्दै सुनेको अनुभूति सुनाउनुभयो । 

त्यसैगरी, उहाँले हरिलाल पन्त, नैनबहादुर सिंह लगायतका योद्धाले प्रजातन्त्र ल्याउनमा अहम् भूमिका खेलेको बताउनुभयो । तिला गाउँपालिका–४, जुम्ला निवासी ८२ वर्षीय रणबहादुर शाहीले नेपालमा २००७ सालमा प्रजातन्त्र आउँदा कर्णालीले भने २००८ सालमा थाहा पाएको जनाउनुभयो । राज्यले मनाउने प्रजातन्त्र दिवस मात्र नभएर अन्य राष्ट्रिय महत्वका दिवस के–के हुन् र कहिले मनाइन्छन् भन्ने कुरासमेत यहाँका ग्रामीण नागरिकलाई थाह नभएको उहाँले रासससँगको कुराकानीमा भन्नुभयो । 

राजा र प्रजाको संघर्षबाट प्रजातन्त्रको उदय भएकाले यसलाई महत्वपूर्ण दिवसका रुपमा मनाउनुपर्नेमा उहाँको जोड छ । मुलुकमा प्रजातन्त्र, बहुदलीय व्यवस्था र लोकतान्त्रिक गणतन्त्र आए पनि कर्णालीको विकास हुन नसकेको उहाँको गुनासो थियो । 

चन्दननाथ नगरपालिका–६, जुम्ला निवासी ज्येष्ठ नागरिक पदमलाल महतले हिजो राज्यले नै सम्मानका साथ मनाउने प्रजातन्त्र दिवस आज राज्यकै नीति निर्माणमा बसेकाले कम मान्यता दिएकाले यो छायाँमा पर्दै गएको आरोप लगाउनुभयो । लोकतन्त्र भन्ने शब्द र दिवस मनाउने कुरा आएपछि प्रजातन्त्र दिवसको महत्व घटेको उहाँको बुझाइ छ । 

खासगरी पुरानो पुस्ताले प्रजातन्त्र स्थापनाको दिनलाई महत्व दिँदै आए पनि नयाँ पुस्ताले लोकतन्त्र प्राप्ति भएको दिनलाई बढी महत्व दिएको बताउनुहुन्छ, कर्णालीका पुराना वामपन्थी नेता रामकृष्ण बुढ्थापा । उहाँले मुलुकका परिवर्तनसँगै कार्यशैली र पद्धति पनि बदलिएको जनाउनुभयो । यद्यपि सर्वमान्य राष्ट्रिय महत्वका घटनाको तौल घटाउन नहुने उहाँको भनाइ छ । 

चन्दननाथ नगरपालिका, जुम्लाका प्रमुख कान्तिका सेजुवालले पञ्चायती शासन व्यवस्थामा निकै महत्वका साथ मनाइने प्रजातन्त्र बहुदल आइसकेपछि बहुदलवादीले कम मान्यता दिएको टिप्पणी गर्नुभयो । पछिल्लो समयमा झनै औपचारिकतामा मात्र प्रजातन्त्र दिवस मनाइने गरिएको उहाँले बताउनुभयो । 

“प्रजातन्त्र र लोकतन्त्र एकअर्काका पर्यायवाची शब्द भएकाले राजनीतिक दलहरु एकजुट भएर महत्वका साथ मनाइनुपर्दछ,” प्रमुख सेजुवालले भन्नुभयो । यसका लागि राज्यका हरेक अंग, प्रत्यंग पनि सशक्त बनाउँदै लैजानुपर्ने उहाँको सुझाव थियो । “उसो त लोकतन्त्र दिवसप्रति पनि नागरिक उत्साह देखिँदैन । यसो हुनुमा मुलुक भित्रको शासन पद्धतिको सही विकास नहुनु नै हो,” उहाँले थप्नुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!