राष्ट्रियसभामा देउवा सरकारको सिफारिस रद्द, नयाँ ३ जनाको नाम सिफारिस

Posted on: 20 Feb, 2018

फागुन ८, काठमाडौं । सरकारले अघिल्लो सरकारले राष्ट्रियसभामा सिफारिस गरेका ३ जनाको नाम फिर्ता लिँदै उनीहरुको ठाउँमा नयाँ ३ जनाको नाम सिफारिस गरेको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र बिना पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो । 

देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । 

तर, राष्ट्रपति कार्यालयले सो सिफारिस अध्ययन गर्न बाँकी रहेको र परामर्श गर्नुपर्ने भन्दै थन्क्याएको थियो । मंगलबारको बैठकले देउवा सरकारले गरेको सिफारिस रद्द गरेर नयाँ सिफारिस गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेकाहरु एमाले र माओवादी निकट छन् । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । 

हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना निर्वाचित भइसके पनि ३ जना भने नियुक्त गर्न बाँकी थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!