संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी हुँदैन: झा

Posted on: 24 Feb, 2018

फागुन १२, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘संविधान संशोधन भयो भनेमात्रै हामी सरकारमा जानेबारे सोच्न सक्छौं, अहिले हामीले सरकारमा सहभागी हुनेबारे केही पनि सोचेको छैन ।’


हिजोको दिनमा संविधान संशोधन भैरहँदा संशोधन गर्नै हुँदैन भनेर क्रान्तिकारी भाषण गर्ने र दुई तिहाई पुर्याउन नदिने दल नेकपा एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै झाले भने,‘हामी त संशोधनको पक्षधर हौं, तर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संशोधनको लागि ईच्छुक हुनुहुन्छ कि हुनुहुँदैन् ? उहाँहरुसँग अहिले प्रचण्ड बहुमत छ, हामी पनि भयौं भने दुई तिहाई भन्दा बढि बहुमत हुन्छ।’

झाले एमाले–माओवादीसहित राजपा र फोरम पनि मिल्यो भने संशोधनको लागि प्रचण्डभन्दा प्रचण्ड बहुमत पुग्ने र संविधान संशोधन रातारात हुने अर्थात तुरुन्त हुने विश्वास दिलाए । उनले संशोधन नगरी आफूहरु सरकारमा नजाने अडान दोहोर्याए ।

उनले भने,‘हामीलाई सरकारमा जान कुनै हतारो छैन, अहिले हामीले सरकारमा जानेबारे सोचेको पनि छैन, सरकारमा त्यतिकै सहभागी भयौं भने जनताले के भन्छन् ? तपाई पत्रकारहरुले के भन्नुहुन्छ ? हामी संशोधन पक्षधर भएकोले राजपा र फोरमले दायाँबायाँ गर्ने अवस्था छैन।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!