काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

Posted on: 25 Feb, 2018

फागुन १३, काठमाडौँ | नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गरी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो । 

काँग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले काँग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो । 

नेपालको संविधानबमोजिम दुई सदनात्मक व्यवस्थापिका अनुसार काँग्रेसले पार्टी संसदीय दलको विधान परिमार्जन गर्न लागेको जनाएको छ । यही फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि काँग्रेसले संसदीय दलको नेता चयन गरिसक्ने जनाएको छ । 

आजको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि निर्वाचन समिति बनाउने र मिति तोक्ने बताइएको छ । यसबाहेक समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!