काँडा गाउँपालिका अव साइपाल गाँउपालीका

Posted on: 25 Feb, 2018

टेकेन्द्र बोहरा | फागुन १३, बझाङ |  स्थानीयको तहको आठ महिना लामो आन्दोलनपछि काँडा गाउँपालिकाले अव साईपाल गाँउपालीकाको मान्यता पाएको छ । 

काँडा गाउँपालिकाको नाम परिवर्तन गरेर साइपाल गाउँपालिका कायम गरिएको हो । जिल्लाको सबैभन्दा अग्लो हिमाल साइपालको नामबाट गाउँपालिकाको नामाकरण गर्ने कार्यपालिकाको निर्णय मन्त्रीपरिषद्ले स्वीकृत गरेपछि नाम परिर्वतन भएको हो । 

समुन्द्र सतहबाट ७ हजार ३६ मिटरको उचाइमा रहेको साइपाल हिमालको नामबाट गाउँपालिकाको नामाकरण गर्न पाउनु सौभाग्य भएको साईपाल गाँउपालीकाका घुरन बोहराले बताए। 

‘साइपाल हिमाल सुदूरपश्चिमकै प्राकृतिक धरोहर हो’। गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भन्नुभयो, ‘यो हिमाल हाम्रो गाउँपालिकाको भुगोल भित्र हुनु र गाउँपालिकाको नामाकरण पनि साइपालकै नामबाट गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो’ ।

साइपाल हिमाल आरोहण र पर्यटकीय गतिविधी व्यवस्थापन गर्न सके मात्र गाउँपालिकाको आम्दानीको ठूलो स्रोत साइपाल हिमाल हुने भएकोले यसको प्रचार प्रसार गर्नका लागि हिमालको नामबाट गाउँपालिकाको नाम राखिएको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताउनुभयो ।

जिल्लाकै सबैभन्दा दुर्गम मानिने साइपाल गाउँपालिका क्षेत्रफलका हिसाबले नेपालकै ठूलो गाउँपालिका हो । १ हजार ४ सय ६७ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्लाकै सबै भन्दा उच्च हिमाली क्षेत्रमा रहेको गाउँपालिकासमेत हो । 

चिनको स्वसासित क्षेत्र तिब्बतसँग जोडिएको यस गाउँपालिकाको जनसंख्या २ हजार १ सय ८२ रहेको छ । जडिबुटीको भण्डार मानिने यो गाउँपालिकाको क्षेत्रमा अभ्रख, काइनेट, क्वार्ज, चुनढुगा, फलामलगायतका बहुमूल्य खनिजहरुसमेत रहेको खानी तथा भूर्गभ विभागको तथ्याङ्क छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!