रेशम चौधरीले आत्मसमर्पण गरे

Posted on: 26 Feb, 2018

फागुन १४, धनगढी । राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद रेशम चौधरीले अदालतमा आत्मसमर्पण गरेका छन् ।


सांसदमा निर्वाचित भएपनि कैलालीको टीकापुर घटनामा दोषी ठहर भएपछि अदालतले पक्राउ गर्न आदेश दिएका चौधरीले जिल्ला अदालत कैलालीमा भर्खरै आत्मसमर्पण गरेका हुन् ।

फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा दस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले विजयी भएका थिए । तर, चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् ।

वारेसमार्फत विजयी भएको प्रमाणपत्र पाउनु पर्ने माग गर्दै चौधरी सर्वोच्चसम्म पुगे पनि उनको माग अनुसार आदेश भएन ।

७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको छ । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार छन् ।

चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् । घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका थारु नेता लक्ष्मण चौधरी अहिले जेलमै छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!