बजेट कृषि र युवामुखी हुन्छ: मन्त्री आङबो

Posted on: 03 Mar, 2018

फागुन १९, पाँचथर | प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी बजेट कृषि र युवा वर्गलाई केन्द्रमा राखेर ल्याइने बताउनुभएको छ । 

गृहजिल्ला पाँचथर सदरमुकाम फिदिममा आज पत्रकारसँग कुरा गर्दै मन्त्री आङबोले युवालाई स्वरोजगार बनाउने र कृषिलाई आधुनिकीकरण गरेर निम्नस्तरका जनताको आर्थिक अवस्थालाई उठाउने किसिमको बजेट आउने स्पष्ट पार्नुभयो । 

मन्त्री आङबोले प्रदेश–१ को मेरुदण्डको रुपमा रहेको रानी–किमाथाङा सडक र केचना–ओलाङचुङ मार्गलाई पूर्णता दिनुपर्छ भन्नुभयो । 

एकैपटक धेरैजना तत्कालीन जनमुक्ति सेनाले सहादत प्राप्त गरेको पाँचथरको मेहेलबोटेलाई नमूना वस्तीको रुपमा विकास गर्ने निर्णय भइसकेको उहाँले बताउनुभयो । 

मन्त्री आङबोले जनयुद्धको समयमा बलिदान गर्नेको परिवारलाई संगठित गर्ने उद्देश्यले आफ्नो पहिलो महिनाको तलब पाँचथरमा शहीद परिवार समाज स्थापनार्थ खर्च गर्ने बताउनुभयो । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!