उपराष्ट्रपति पुनलाई चिनियाँ समकक्षीको बधाई

Posted on: 20 Mar, 2018

चैत ६, काठमाडाँै | उपराष्ट्रपति नन्दबहादुर पुनलाई चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले बधाई दिनुभएको छ । 


नवनिर्वाचित चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले उपराष्ट्रपति पुनलाई चिनियाँ राजदूत यु होङमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो । 

नेपालका लागि चिनियाँ राजदूत यु होङले आज अपराह्न उपराष्ट्रपतिको कार्यालय पुगेर चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नो तर्फबाट बधाई तथा शुभकामना दिनुभयो । 

सो अवसरमा उहाँले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताउँदै नेपालको विकास गर्ने प्रयासमा चीन अग्रमोर्चामा रहेर सहयोग गर्ने उल्लेख गर्नुभयो । 

भेटमा उपराष्ट्रपति पुनले आफू दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुँदा बधाई दिनुभएकामा चीनका उपराष्ट्रपति, चीन सरकार र नेपालका लागि चिनियाँ राजदूतलाई धन्यवाद दिनुभयो । 

भेटमा उहाँले नेपाल र चीन सम्बन्ध दिन प्रतिदिन प्रगाढ बन्दै गइरहेको उल्लेख गर्दै चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ (विआरआइ)को प्रशंसा गर्नुभयो । 

उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै नेपालको विकासमा चीनले पु¥याइरहेको सहयोगका लागि धन्यवाद दिनुभयो । 

भेटमा उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरे र चिनियाँ दूतावासका पदाधिकारीहरूको समेतको उपस्थिति थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!