कर्मचारी समायोजन ऐनअनुसार अवकाश माग

Posted on: 24 Mar, 2018

चैत १०, काठमाडौँ (रासस) | निजामती कर्मचारी संगठनले कर्मचारी समायोजन ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कर्र्मचारीको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । 

यहाँ शुक्रबार आयोजित कार्यक्रममा उनीहरुले ऐनमा व्यवस्था भएअनुसार कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने माग गरे । आधिकारिक ट्रेड यूनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले ऐनअनुसार कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने माग गर्दै खटाएको ठाउँमा कर्मचारी पुगे पनि काम गर्ने वातावरण नभएको जिकिर गर्नुभयो । 

कार्यक्रममा नेपाल कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले स्वेच्छिक अवकाशको व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । नेपाल निजामती कर्मचारी युनियन(संघ)का अध्यक्ष गोपाल पोखरेलले आफूहरुले कहिल्यै स्वेच्छिक अवकाशको माग नगरेको भन्दै सरकारले आफैँले ल्याएको व्यवस्थालाई लागू गर्नुपर्ने बताउनुभयो । 

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले सरकारले खटाएको स्थानमा कर्मचारी पुगेर काम गरिरहेको जिकिर गर्नुभयो । मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले समृद्ध नेपाल निर्माणमा कर्मचारीको ठूलो भूमिका रहने भएकाले सरकारले उचित किसिमको काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!