नेपाली काँग्रेसको जारी बैठकमा नेतृत्वको भूमिकाबारे तीव्र आलोचना

Posted on: 24 Mar, 2018

चैत १०, काठमाडौँ  | नेपाली काँग्रेस केन्द्रीय कर्यसमितिको जारी बैठकमा नेतृत्वको भूमिकाबारे तीव्र आलोचना भएको छ । 

निर्वाचनको समीक्षा गर्न शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्यहरुले निर्वाचनमा पार्टीको पराजय नेतृत्वको कमजोरी, संगठनको निष्क्रियता र भ्रातृ संगठनको भूमिकाहीनता नै मुख्य जिम्मेवार रहेको आरोप लगाउनुभयो । 

उहाँहरुले पार्टी नेतृत्वबाट प्रभावकारी भूमिका खेलन नसकेकै कारण काँग्रेसले निर्वाचनको परिणाम सोचेअनुरुप हात पार्न नसकेको टिप्पणी गर्नुभयो । 

बैठकमा सभापति देउवा पक्षधर नेताहरुले पार्टीभित्रका गुटउपगुट, असहयोगको प्रभाव र वाम गठबन्धनको असरले पार्टीलाई निर्वाचनको गणितीय परिणाममा धक्का लागे पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समानुपातिक निर्वाचनको परिणामलाई विश्लेषण गर्दा अहिले नै आत्तिहालनुपर्ने र नेतृत्वबारे नकारात्मक टिप्पणी गर्नुपर्ने स्थिति नरहेको धारणा व्यक्त गर्नुभयो । 

बैठकमा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी अहिले जुन अवस्थामा छ, यो बेला एकले अर्काप्रति आरोप प्रत्यारोप गर्नेभन्दा पनि कमीकमजोरीलाई सुधारेर अघि बढ्न आवश्यक रहेको दृष्टिकोणबाट सुझाव आएको जानकारी दिनुभयो । 

अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीको आन्तरिक अवस्था, टिकट वितरणमा विभेद र प्रचार रणनीतिमा कमजोरी तथा विपक्षको आरोपको खण्डन र प्रतिवाद उचित ढंगबाट हुन नसक्दा अहिले नेपाली काँग्रेस कमजोर जस्तो देखिन पुगेको धारणा बैठकमा अधिकांश सदस्यहरुले राख्नुभएको बताउनुभयो । 

उहाँहरुले पार्टीलाई सबल र सुदृढ बनाउने सन्र्दभमा उठेका प्रश्नका बारेमा सभापति र महामन्त्रीले गम्भीर ढंगले आत्मसात् गरेर एकताबद्ध भई अघि बढ्नुपर्ने सुझाव दिनुभएको उहाँले बताउनुभयो । 

अर्का केन्द्रीय सदस्य वीरबहादुर बलायरले विगतमा कृष्णपसाद भराई र गणेशमान सिंहलाई जुन परिस्थितिबाट गुज्रनुपर्ने अवस्था सिर्जना गरियो, त्यसैको नजिताका कारण नेपालीले काँग्रेसले अहिलेको अवस्था भोग्नुपरेको दृष्टिकोण प्रस्तुत गर्नुभयो । 

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा केन्द्रीय सदस्यहरु हरिप्रसाद नेपाल, नरहरि आचार्य, नवीनद्रराज जोशी, कल्याण गुरुङ, दीलेन्द्रप्रसाद बडूले आ आफ्ना धारणा राख्नुभएको थियो । समितिको अर्को बैठक सोमबार बिहान ९ बजे बस्नेछ । - रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!