प्रधानमन्त्री ओलीले भनेः ‘अब कर्णाली गरिब रहँदैन’

Posted on: 15 Apr, 2018

बैशाख २, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश अब गरिब नरहने बताएका छन् । आइतबार सुर्खेतथको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीलेअब कर्णालीमा विकासको गाडी तीव्र गतिमा अघि बढ्ने बताए । ‘जिन्दगी भर एउटा घर कहिलेसम्म बनाइरहने ? विकास निर्माणका कामहरु छिटो र छरितो रुपमा गर्नुपर्छ । यस कारण र उस कारणले विकास भएन भनेर भन्नुहुँदैन’ उनले भने, ‘यस प्रदेशलाई कसरी बढाउने भनेर केन्द्र र प्रदेशले सोचेको छ । यहाँको विकासको गाडीको इन्जिन ठिक छ, अब विकासको गति अघि बढ्छ । हामीले अब विकास गर्नैपर्छ ।’

समृद्धिको यात्रा कर्णाली प्रदेशबाटै थालिने भन्दै त्यसका लागि संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको प्रधानमन्त्रीले दावी गरे । ‘कर्णाली अब गरिब रहन्न र रहन दिनु पनि हुन्न’ प्रधानमन्त्रीले भने, ‘अबको यात्रा भनेको समृद्धिकै यात्रा हो ।’ उनले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकाङ्कमा पछाडि रहेको भन्दैसमृद्धिको यात्रा पनि यहीबाट सुरुवात गरिने बताए ।

देशमा दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा गुणस्तरीय हुनु पर्ने भन्दै उनले सबै उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको औल्याए । शिक्षाको अभावमा जनशक्ति दक्ष बन्न नसक्ने भन्दै दक्षजनशक्तिका लागि पनि सबै शिक्षित मात्र होइन बिशेषज्ञ हुनु पर्नेमा जोड दिए । आफुले मुगुबाट विद्यार्थी भर्ना अभियान सुरु गरेको भन्दै कसैले पनि विद्यालय बाहिर रहनु पर्ने अवस्था नरहेको उनले बताए । ‘देशको बिकासका लागि शिक्षित जनशक्ति जरुरी छ’ उनले भने, ‘अब सबै नागरिक शिक्षित भए मात्र देश बिकास सम्भव छ ।’ सरकारले कसैलाई पनि विद्यालय जान बञ्चित नगर्ने ओलीको भनाई छ ।

दक्ष जनशक्ति उत्पादन गरेर कृषिको आधुनिकरणतर्फ केन्द्रित हुनुपर्ने भन्दै उनले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन सकिने प्रसस्तै सम्भावना भएको दोहोर्याए । देश बिकासका लागि जनप्रतिनिधीहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले नेतृत्वदायी भुमिका खेल्न जनप्रतिनिधीहरुलाई निर्देशन समेत दिए । कर्णाली प्रदेशका सबै जिल्लाहरुमा सुर्खेतदेखि सीधै हवाई सेवा सञ्चालनका गरिने प्रधानमन्त्रीले आश्वासन दिए ।  कृषि, जडिबुटी, स्वास्थ्य, पर्यटनको विकासका नयाँ योजना आवश्यक भएको प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री ओलीले वीरेन्द्रनगरको कुईनेपानीस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको प्रशासनिक भवनको अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीलले राम्रो भवनले मात्र शैक्षिक गुणस्तर बिकास नहुने भन्दै गुणस्तरीय शिक्षाका लागि दक्ष जनशक्ति आवश्यक हुने बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई पाठ्यक्रममा ७० प्रतिशतभन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गरी समायोजन गर्न सुझाव दिएका छन्। कार्यक्रममा रक्षामन्त्री इश्वर पोख्रेल, विश्वविद्यालका सहकुलपति एवं शिक्षा मन्त्री गिरिराजमणि पाखे्रल,पर्यटन मन्त्री रबिन्द्र अधिकारी लगायत उपस्थित थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!