एमाले–माओवादी पार्टी एकतामा सहमति जुटेन, बैशाख ९ मा पार्टी एकता नहुने पक्का

Posted on: 17 Apr, 2018

बैशाख ४ काठमाडौं | आज बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकमा पनि कुरा मिल्न सकेन | बैठकमा कुरा नमिलेपछि बैशाख ९ गते हुने भनिएको पार्टी एकता घोषणा नहुने पक्कपकी भएको छ | प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार बसेको एकता संयोजन समितिको बैठकमा पार्टी एकता गर्ने विषयमा कार्यदलबीच  सहमति नजुटेका तीनवटा विषयमा छलफल भएपनि सहमति जुट्न नसकेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

उनले विवादित विषयमा सहमति नभएपछि बैशाख नौ गते हुने भनिएको पार्टी एकता घोषणा टरेको बताए ।

यस्तै बैठकले प्रतिवेदनको अन्तिम रूप दिने जिम्मा दुई अध्यक्षलाई दिएको छ।


‘दुबै प्रतिवेदनलाई अन्तिम रुप दिन र परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको छ । अब  दुई अध्यक्षको वान टु वान बैठकबाट ती विषयलाई टुंगो लगाइने भएको छ’, उनले भने । 

 एमाले महासचिव इश्वर पोखरेलले  एकताका विषयमा खासै विवाद नदेखिएको दाबी गर्दै पार्टीमा  कसको कति प्रतिनिधित्व रहने भन्दा पनि सक्षम  नेतृत्व र सक्षम पार्टी बनाइने बताए । 

उनले चुनाव चिन्हको विषयमा खासै विवाद नभएकोले  विधानमा जनयुद्ध शब्द राख्ने नराख्ने विषयमा छलफल गर्न सकिने बताए । 

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा लगाएतका नेताहरु सहभागि थिए। 

एमाले–माओवादीमा निर्वाचन चिन्ह, जनयुद्ध र  एकातामा सदस्य संख्या कति हुने भन्नेमा विवाद छ । यी विषयमा समितिमा सहमति नहुँदा एकतामा ढिलाई हुँदै आएको हो । 

नेताहरुले जनयुद्ध र निर्वाचन चिन्हमा सहमति जुटाउन कठिन नभएको बताएपनि सदस्य संखयाको अनुपातमा दुवै पक्षले आ–आफ्नो अडान नछोड्दा सहमतिमा ढिलाई भइरहेको बताएका छन् । एमालेले ७०–३० को अनुपातमा संगठन बनाउनुपर्ने भनेको छ भने माओवादीले ५०–५० को अनुपात चाहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!