कामपाको प्रशासकीय प्रमुखमा सचिव कोइराला

Posted on: 20 Apr, 2018

वैशाख ७ काठमाडौँ | काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा नेपाल सरकारका सचिव यादवप्रसाद कोइरालाले पदबहाली गर्नुभएको छ । 

यसअघि सरकारले सहसचिव स्तरका कर्मचारीलाई कामपाको यस पदमा पठाउने गरेको थियो ।

१६ वर्ष सरकारी सेवामा काम गरिसक्नुभएका कोइरालाले गृह प्रशासन, सामान्य प्रशासनसँगै इलाम जिल्लाको तत्कालीन स्थानीय विकास अधिकारी भएर स्थानीय सेवाको अनुभव हासिल गर्नुभएको छ । 

पदबहाली पछि बोल्दै सचिव कोइरालाले कार्यालय समयमा इमान्दारिताका साथ काम गर्न, नागरिकलाई दुःख नदिन र महानगर म आफैँ बनाउँछु भनेर प्रतिबद्धता जनाउन अधिकारीलाई आग्रह गर्नुभयो । 

विविधतापूर्ण महानगरमा एकीकृत र योजनाबद्ध सेवा दिन र जनप्रतिनिधिले बनाएका नीति कार्यान्वयन गर्न सदैव तत्पर रहनुपर्नेमा पनि उहाँको जोड रहेको थियो । नेपाल सरकार मन्त्रीपरिषद्को चैत २० गते निर्णयअनुसार कोइरालाले गत सोमबार महानगरमा पदबहाली गर्नुभएको हो । 

कामपाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माको सरुवा भएसँगै कोइराला आउनुभएको हो । गत भदौमा कामपा आउनुभएका शर्मा अर्थ मन्त्रालयअन्तर्गत ठूला करदाता कार्यालयको नेतृत्व समाल्दै हुनुहुन्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!