काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

Posted on: 22 Apr, 2018

वैशाख ९ काठमाडौँ | नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः आज बस्दैछ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा यसअघि बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने दलको कार्यालयले जनाएको छ । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक अधिकांश केन्द्रीय सदस्य राजधानीबाहिर भएकाले बैठकै नबसी स्थगन गरिएको थियो । 

गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते दलका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो । यसअघि छ दिनसम्म चलेको बैठकमा ४४ केन्द्रीय सदस्यले निर्वाचनमा दलको हारका सम्बन्धमा आफ्ना धारणा व्यक्त गरिसक्नुभएको छ । 

बैठकमा केन्द्रीय सदस्यले दलको नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा हार व्यहोर्नु परेका सम्बन्धमा पक्षविपक्षमा तर्क राख्नुभएको थियो । केन्द्रीय समितिको बैठकले महासमिति बैठकको मिति र स्थान तोक्नाका साथै केन्द्रीय समितिमा रिक्त पदाधिकारी र सदस्यको नियुक्तिसमेतको निर्णय गर्ने बताइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!