धमाधम कानुन बनाउँदै कर्णाली सरकार

Posted on: 23 Apr, 2018

बैशाख १० सुर्खेत। प्रदेश नम्बर ६ को नाम ‘कर्णाली’ र राजधानी ‘वीरेन्द्रनगर’ तोकेसंगै अन्य प्रदेशको तुलनामा थुप्रै कामहरु कर्णाली प्रदेशले अघि बढाएको छ ।


ऐन, कानुन निर्माणदेखी कर्णाली रारा पर्यटन वर्षको शुभारम्भ समेत कर्णाली प्रदेशले गरिसकेको छ । 

०७४ माघ ७ गते प्रदेश सांसदहरुले सपथ खाएपछि माघ २१ गते जेष्ठ सांसद हिमबहादुर शाहीको अध्यक्षतामा कर्णाली प्रदेशको पहिलो बैठक बस्यो । माघ २९ गते सभामुखमा राजबहादुर शाही र फागुन ३ गते उपसभामुखमा पुष्पा घर्ती निर्वाचित भए । 


कर्णाली प्रदेशको मुख्यमन्त्रीमा फागुन ३ गते नियुक्त भएका महेन्द्रबहादुर शाहीले फागुन ६ गते मन्त्रीपरिषद् विस्तार गरे । प्रदेश सभाको चौंथो बैठकले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत तोक्यो । त्यसयता कर्णाली प्रदेश सरकारले महिनाको १ र १५ गते श्रम दिन मनाउँदै कर्णाली रारा पर्यटन वर्षको शुभारम्भ गरेको छ । अरु प्रदेश विस्तारै हिडे पुग्छ हामी दौडनु पर्ने अवस्थामा रहेकाले सरकारले विधेयक निर्माणमा तिव्रता दिएको सामाजिक विकास मन्त्रालयका मन्त्री दल रावलले बताउँछन् । 

पिछडीएको र ५२ प्रतिशत गरिबी रहेको कर्णाली प्रदेश देशकै कान्छो प्रदेश भएकाले पनि थुप्रै काम गर्नु पर्ने भएकाले विधेयक र ऐन नियम निर्माणमा होमिएको उनको तर्क छ । सबैभन्दापछि घोषणा गरिएको प्रदेश भएपनि अन्य प्रदेशहरुले नाम र राजधानीको बहस गर्न सकेका छैनन् । 

तर कर्णाली प्रदेशले नामाकरण र राजधानीको टुंगो लगाएसंगै विधेयक र थुप्रै कानुनहरु निर्माण गरेको छ, भने केही विधेयकहरु निर्माणको चरणमा छन् । प्रदेश नामाकरण र राजधानीको टुंगो लगाएसंगै प्रदेश सरकारले गरेको कामहरुको मुल्याङ्कन गर्ने समय नभएपनि युवा मुख्यमन्त्री र मन्त्रीहरुले गर्ने कामको स्पिड भने सन्तोषजनक रहेको राजनीतिक विश्लेषक पिताम्बर ढकालले बताए । उनले यही रफ्तारमा काम गरे प्रदेशको विकासमा उल्लेख्य प्रगति हुने विश्वास छ ।

ढकालले सरकारलाई प्रदेश निर्माणका लागि विज्ञहरुसंग सुझाव लिएर काम गर्न समेत सुझाए । कर्णाली प्रदेश सभाको बैठक ११ पटक बसेको छ । सभाले आफ्नै नियमावली तयार गरेर कर्णाली प्रदेश सभा नियमावली २०७४ तथा विषयगत समितिहरुमा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको छ । अर्थ मन्त्रालयले तयार गरेको आर्थिक कार्यविधि प्रदेश सभाले पारित गरेको छ । अब सम्भावनाको गान गाउनेभन्दा पनि कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले बाह्य लगानी भित्राउन सुरक्षाको ग्यारेन्टी र वातावरणमैत्री ऐन ल्याउनेमा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी ढुक्क छन् । बाह्य लगानीविना  प्रदेशको विकास गर्न असम्भव रहेकाले उद्योग स्थापनाका लागि समयमै सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठक ६ पटक बसेको छ । रारा तालमै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी मन्त्रीपरिषद्को बैठकले चीनतर्फका उत्तरी नाकाहरु खोल्नमा केन्द्रीय सरकारले पूर्ण सहयोग गर्ने आश्वासन प्रदेश सरकारले पाएको छ । बैठकले संचित कोष संचालन नियमावली पारित गर्दै कर्णाली प्रदेशको आकस्मीक कोष विधेयक २०७५ को मस्यौदा प्रदेश सभामा दर्ता गरेको छ । तर सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि, कर्णाली प्रदेशका गाँउसभा र नगरसभाको कानून निर्माण प्रक्रिया सम्वन्धी विधेयक, प्रदेश सभा, स्थानीय तह पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा विधेयक तयार गर्न कानुन मन्त्रालयलाई स्वीकृती दिइसकेको छ 

मुख्यमन्त्री र प्रदेश प्रमुखबीच भेटघाट

सरकारका नीति र कार्यक्रम प्रमूख समक्ष पेश

सुर्खेत १० वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग भेटघाट गरेका छन् । आइतबार विहान साढे ११ बजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा मुख्यमन्त्री शाहीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख खनालसमक्ष पेश गरेका छन् ।

मन्त्रीपरिषद वैठकद्धारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ । भेटघाटमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने सम्वन्धमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब बुढाथोकीले जानकारी दिएका छन् । कर्णाली प्रदेश सरकारको शनिबार सम्पन्न मन्त्रीपरिषद वैठकले चालु आर्थिक वर्ष २०७४÷७५को लागि प्रदेश सरकारको नीती तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो ।

सोमबार वस्ने कर्णाली प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

सम्बन्ध विच्छेदका मुद्धामा बृद्धि

सुर्खेत १० वैशाख । सुर्खेतमा गत वर्षको तुलनामा यस वर्ष करिव ३० प्रतिशत सम्वन्ध विच्छेदको मुद्दा दर्ता भएका छन् । आर्थिक अभाव र लागुऔषध कुलतका कारण घरवार विग्रिने गरेको छ भने रोजगारीकालागि विदेश गएका अधिकांश पुरुष र महिलाहरुको पारिवारिक सम्वन्ध दिगो नहुने गरेको जिल्ला अदालत सुर्खेतमा दर्ता भएका सम्वन्धविच्छेदका मुद्दाले देखाएको छ ।

जिल्ला अदालतमा सुर्खेतमा दर्ता भएका १०८८ मुद्दा मध्ये ३०३ थान मुद्दा सम्वन्ध विच्छेदका रहेका छन् । यसमध्येपनि अधिकांश सम्वन्ध विच्छेदका मुद्दा बैदेशिक रोजगारमा गएकाहरुको परिवारबीच आर्थिक कारोवारका कारण हुने गरेको छ ।जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार वीरेन्द्र मल्लले सम्बन्धविच्छेद मुद्दा दिनप्रतिदिन बढ्दै गइरहेको बताए। उनले सामाजिक, आर्थिक र शारीरिक कारणले गर्दा पनि सम्बन्धविच्छेदलाई बढावा दिइरहेको बताए ।

विदेशबाट पठाएको रकम हिनामिना भएपछि पारिवारिक सम्वन्ध विग्रिने अवस्था आउने गरेको छ । जसले गर्दा सम्वन्ध विच्छेदकालागि अदालतसम्म पुग्ने गरेका छन् । श्रीमान्ले विदेशमा अर्को राखेको र श्रीमती स्वदेशमा अर्कोसंग लागेका भन्दै अदालत जाने गरेको स्थानीय अधिवक्ताको भनाई छ ।सरकारले रोजगारको श्रृजना गर्न नसक्दा रोजगारकालागि विदेश जाने बध्यताका कारण सम्वन्ध विच्छेदका घटना बढ्ने गरेको स्थानीय अधिकारकर्मीको भनाई छ । यसलाई निरुत्साहीत गर्न स्वदेशमै रोजगारीको सृजना गर्न आवश्यक भएको उनीहरुको भनाई ।

अधिवक्ता कौशीला योगीले सम्बन्धविछेदको कारणले बालबालिकामा असर गरेको भन्दै युवाशक्तीलाई नेपालमै सरकारले रोजगार दिलाउन सके सम्बन्धविच्छेदका घटना न्युनिकरण हुने बताइन् । उनले पछिल्लो समयमा वैदेशिक रोजगारीमा गएका युवाहरुको नै धैरेजसो सम्बन्ध विच्छेद भएको बताइन् ।अदालतमा आउने अधिकांश सम्वन्धविच्छेदका मुद्दा रोजगारीमा गएका र लागुऔषधको दुव्र्यशनीमा परेका परिवारवीच आउने गरेको छ । अदातलको फर्मेट एकै प्रकृतिको हुने भएकाले श्रीमान्ले कुटपिट गर्नेभएकाले सँगै वस्न नसक्ने भएकाले अंशसहितको विच्छेद गर्ने गरि आउने गरेको जिल्ला अदालतले जनाएको छ ।यसलाई निरुत्साही गर्न सरकारले स्वदेशमै रोजगारी दिन सके सम्वन्धविच्छेदका मुद्दामा कमि आउन सक्छ ।

खेलाडीहरुसम्मानित

सुर्खेत १० बैशाख । नयाँ बर्षको अवसरमा गुर्भाकोटको मेहेलकुनामा सिर्जनशील युवा क्लवले आयोजना गरेको चन्द्र स्मृति कप फुटवल प्रतियोगिताको बिजेता वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ को स्काई क्लवलाई वडा कार्यालयले सम्मान गरेको छ ।आइतवार वडा कार्यालयले एक कार्यक्रम गरी वडा अध्यक्ष निलकण्ठ खनालले विजेता खेलाडीहरुलाई अविर र खादा लगाएर सम्मान गरेका हुन् ।

प्रतियोगिताको फाइनलमा स्काई क्लव सुर्खेतले बाँकेको सितापुर युनाइटेड क्लवलाई पराजित गरी नगद १ लाख ५५ हजारसहित कप र मेडल जितेको थियो । प्रतियोगितामा १४ गोल गर्ने स्काई क्लवका खगेन्द्र खत्री सर्वाधिक गोलकर्ता र पासाङ रोकाय उत्कृष्ट गोलरक्षक घोषित भएका थिए । सम्मान कार्यक्रममा वडा अध्यक्ष निलकण्ठ खनालले गुर्भाकोटमा गई प्रथम भएर खेलाडीहरुले वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ को इज्जत राख्न सफल भएकोमा बधाई ज्ञापन गरे ।

उनले खेलाडीहरुको विकासका लागि वडाले विभिन्न कामहरु गर्ने आश्वासनपनि दिए । क्लवका अध्यक्ष गणेशमान खनालले खोर्के खोला नजिकको अस्थायी खेलमैदानलाई स्तरोन्नति गर्न वडा र वन समितिसंग माग गरेका छन् । प्रतियोगिताका लागि क्लवलाई वडाले २५ हजार र भैरम सामुदायिक वन समितिले ६ हजार सहयोग गरेको थियो ।सम्मान कार्यक्रममा वडा सदस्यहरु शेरबहादुर केसी, कृष्णप्रसाद गौतम, भैरम सामुदायिक वनका अध्यक्ष अमरबहादुर कार्की, शिक्षक अगुवा शिवप्रसाद सापकोटालगायतको उपस्थिति थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!