नेकपाको केन्द्रीय सदस्यमा खोटाङका ६ नेता (को-को परे ?)

Posted on: 23 May, 2018

जेठ ९, खोटाङ | नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा खोटाङका छ जना नेता मनोनीत हुनुभएको छ । 

माओवादीको तर्फबाट समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राई तथा एमालेका तर्फबाट विशाल भट्टराई, खगेन्द्र राई र राजन राई केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको हो । 

यसअघि छुट्टाछुट्टै पार्टी हुँदा केन्द्रीय कमिटीमा बसेका सबैजना नेता नवगठित पार्टीको पनि केन्द्रीय सदस्य बनेका स्रोतले जनाएको छ । माओवादीका तर्फबाट तीनजना पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राई पूर्व सभासद् हुनुहुन्छ । पूर्व सभासद् रामकुमार राई (पासाङ) अहिले खोटाङ क्षेत्र नम्बर–२ (ख) का प्रदेशसभा सदस्य हुनुहुन्छ । 

एमालेको तर्फबाट केन्द्रीय सदस्य बनेका खगेन्द्र राई यसअघि पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने विशाल भट्टराई र राजन राई वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्थ्यो । विशाल भट्टराई हाल खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ भने राजन राई खोटाङ क्षेत्र नम्बर–१ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!