प्रदेश नंम्बर ३ को नाम नेवा ताम्सालीङ राख्न माग

Posted on: 03 Jul, 2018

असार १९, हेटौंडा । तीन नंम्बर प्रदेशको नाम नेवा ताम्सालीङ प्रदेश राख्नका लागि माग गरिएको छ । नेपाल तामाङ घेदुङ संघ तीन नम्बर प्रदेश कमिटीको आयोजनामा हेटौंडामा आयोजित संघियता कार्यान्यन र तामाङ पहिचान बिषयक कार्यक्रममा  प्रदेशको नाम नेवा ताम्सालीङ प्रदेश राख्नका लागि माग गरिएको हो । 

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्रीहरु, सांसदहरु सबै राखेर आफ्ना एजेण्डा स्थापति गर्नका लागि यो कार्यक्रम गरिएको थियो । सात वटै प्रदेश मध्येमा तीन नंम्बर प्रदेशमा मात्र तामाङ र नेवार जातीको धेरैनै बसोबास रहेकाले प्रदेशको नामाकरण गर्दा ध्यान दिनका लागि नेपाल तामाङ घेदुङ संघका तीन नंम्बर प्रदेशका अध्यक्ष सोमबल तामाङले आग्रह गर्नुभयो ।

यो नामाकरण गरिएमा द्धन्द्ध पनि मेटिने र पहिचान पनि भेटीने भएकाले र बहुपहिचानको मुद्धा पनि समेटिने भएकाले यसमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । आफ्ना मातृभाषाहरु बिद्यालयमा अनिवार्य रुपमा पढाउनका लागि पनि माग गरिएको छ । 

तामाङ समुदायले मान्दै आएको सोनाम लोछारका अबसरमा तीन दिन सार्बजनिक बिदा दिनका लागि पनि माग गर्दै बौद्य धार्मिक करिडोरको घोषणा गर्नका लागि पनि आज माग गरिएको छ । तीन नंम्बर प्रदेशको १३ वटै जिल्लाहरु समेट्नेगरी प्रदेश सरकारले निर्माण गर्न लागेको चक्रपथलाई आफ्नो जाती अनुसारको ताम्सालिङ चक्रपथको रुपमा निर्माण गर्नका लागि उनिहरुले माग गरेका छन् ।

सबै तामाङ समुदायहरुको माग सुनिसकेपछी प्रमुख अतिथीको आसनबाट बोल्दै  तीन नंमबर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सुखी नेपाली र समृद्ध नेपालको नाराभित्र सबै पर्ने भएकाले जातजातीबाट माथी उठ्नका लागि आग्रह गर्नुभयो । यो नारामा कुनै जातजाती, व्यक्ति, समुदाय भन्दा पनि तीन करोड नेपाली अट्ने भएकाले यो नारा अनुसार काम गरिने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!