बुङगल नगरपालिकाका मेयर बिष्ट विरुद्ध अख्तियारमा उजूरी

Posted on: 15 Jul, 2018

सम्राट सिंह | असार ३१, बझाङ | बझाङ जिल्लाको बुङगल नगरपालिकाका मेयर र केदार माविका प्रअ विरुद्घ अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौमा उजूरी परेको छ । 

बुङगल नगरपालिकाका मेयर तथा केदार माध्यामिक विद्यालयका अध्यक्ष धन बहादुर बिष्ट र सोही विद्यालयका प्रधानाध्यापक ललित बहादुर सिंहले आर्थिक हिनामिना गरेको भन्दै अख्तियारमा उजूरी परेको हो ।

बुङगल नगरपालिका वडा नम्बर ९ स्थित केदार माविमा शान्ति मन्त्रालयबाट भवन निर्माणका लागि बिनियोजन भएको २० लाख रकम हिनामिना गरेको, ५ बर्ष अगाडि जिल्ला शिक्षा कार्यालय बझाङबाट ४ कोठे भवन निर्माणका लागि बिनियोजन भएको २४ लाख रकममा गुणस्तरहिन सामाग्री प्रयोग गरी भवन निर्माण गरी रकम हिनामिना गरेको,विद्यालयका तत्कालिन लेखापाल बिरेन्द्र महरले २०७३ असार मसान्तमा नै जागिर छोडिसकेको तर निजको कृते दस्तखत गरी तलब भत्ता उपभोग गर्दै आएको, बर्षौदेखि अध्यक्ष बिष्ट र प्रअ सिंहले आफन्तहरुलाई सापटी स्वरुप विद्यालयको रकम दिई असुल उपर नगरेको, विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएको झण्डै २ बर्ष बितिसक्दा समेत नयाँ विद्यालय व्यपस्थापन समिति गठन नगरेको बुदाहरु उजूरीमा उल्लेख छन । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौले घटनाको सत्य तथ्य छानविन गरी नियमानुसार आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बझाङलाई पत्राचार गरेको छ । 

बुङगल नगरपालिका वडा नम्बर ९ स्थित केदार माविमा माथिका बुदाहरुमा अनियमितता गरी अख्तियार दुरुपयोग गरेको भन्दै स्थानियले छानबिन गरी आवश्यक कारबाहीको लागि अख्तियारमा उजूरी हालेको छ । 

विद्यालयका तत्कालिन लेखापाल बिरेन्द्र महरले २०७३ असार मसान्तमा नै जागिर छोडिसकेको तर निजको कृते दस्तखत गरी तलब भत्ता उपभोग गर्दै आएको सम्बन्धमा आफुलाई जानकारी नभएको तर उजूरीमा भएका अन्य आरोपहरु व्यक्तिगत रिसीबीका कारण स्थानियले अख्तियारमा उजूरी हालेको बुङगल नगरपालिकाका मेयर तथा केदार माविका अध्यक्ष धन बहादुर बिष्टले बताए । आफु र प्रअ ललित बहादुर सिंह निर्दोष रहेको दाबी गर्दै अन्य आरोपका बिषयमा जिल्ला प्रशासन कार्यालय बझाङमा कागजपत्रहरु बुझाएको र आफु निर्वाचित भए लगत्तै विद्यालयको अध्यक्ष पद पनि छोडिसकेको उनको भनाइ छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!