सर्लाहीमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप: गोली चल्दा १ को मृत्यु, ४ घाइते

Posted on: 30 Oct, 2018

कात्तिक १३, काठमाडौं । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ | झडपको क्रममा गोली चल्दा स्थानीय ५० वर्षीय रामविलास महतोको मृत्यु भएको छ । 

प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालका अनुसार गोलीको छर्रा लागेर ४ जना घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको उनले बताए ।

यसअघि सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूहको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

विवादका क्रममा उनीमाथि आक्रमण समेत भएको थियो । सोही विवादलाई लिएर कार्यकर्ताबीच मंगलबार बिहान झडप भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।

त्यसक्रममा अज्ञात व्यक्तिले भरुवा बन्दुक चलाउँदा रामविलासको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गोली चलाउने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!