केशव स्थापित मन्त्रीबाट बर्खास्त

Posted on: 02 Nov, 2018

कात्तिक १६, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् ।

मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । 

बर्खास्तीमा परेका मन्त्री स्थापित र मुख्यमन्त्रीबीच बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा चर्काचर्की भएको थियो ।  मन्त्रिपरिषद्को बैठकमै मुख्यमन्त्री डोरमणि पौडेलमाथि अपशब्द प्रयोग गरेर गाली गरेको आरोप स्थापितमाथि लागेको थियो । 

बैठकका क्रममा प्रदेशको भौतिक विकासको जिम्मेवारी सम्हालेका मन्त्री स्थापित र उनको मन्त्रालयको सुस्त गतिलाई बढाउन मुख्यमन्त्रीले भनेपछि विवाद सुरु भएको थियो । 

जनतासँग प्रत्यक्ष जोडिने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको गति सुस्त भएको र मन्त्री स्थापितको पनि कार्यशैली ठीक नभएको कुरा मुख्यमन्त्रीले बताएपछि उनी बैठकमै आक्रोशित भएका थिए । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!