दाङ र रोल्पा सहित विप्लवका ६ जिल्ला नेताहरु पक्राउ, रोल्पाभर प्रहरी परिचालन

Posted on: 06 Mar, 2019

फागुन २२, काठमाडौँ | सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका (विप्लव नेतृत्व) का जिल्ला नेताहरु पक्राउ परेका छन् । प्रहरीले रोल्पामा ३ र दाङमा ३ जना गरि ६ जना जिल्ला नेताहरुलाई पक्राउ गरेको हो । 

नेकपाका नेता कार्यकर्ताविरुद्ध राष्ट्र, राष्ट्रियता र सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा मुद्दा दर्ता गरिएको हो । जुन मुद्दामा नेकपाका महासचिव समेत रहेका विप्लब समेतको नाम छ । उनीहरुलाई पूर्वी रोल्पाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलस्थित एनसेलको टेलिफोन टावरमा क्षति पुर्‍याएको अभियोग लगाइ मुद्धा दायर भएको हो । 

रोल्पाबाट टीकाराम नेपाली, लालबहादुर सुनार र दीपेन्द्र सिंह पक्राउ परेका छन् । उनीहरुलाई रोल्पा जिल्ला अदालतमार्फत एक साताका लागि म्याद थपी अनुसन्धान सुरु गरिएको छ । रोल्पामा विप्लव सहित नेकपा नेता तथा कार्यकर्ताको खोजीमा जिल्लाभर प्रहरी परिचालन गरिएको छ । 

प्रहरीले सक्रियता बढाएसंगै नेकपा का नेताहरुले बिज्ञप्ति मार्फत बिरोध गरेको छ । उनीहरुले प्रहरीले घर/घरमा गएर खानतलासी गरेको जनाएका छन् । 

यता दाङमा पनि नेकपाका ३ जना जिल्ला नेताहरु पक्राउ परेका छन् । तुलसीपुरमा भएको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमस्थलबाट प्रहरीले जिल्ला पार्टी कार्यालय सदस्य प्रदीप वली, जिल्ला सचिवालय सदस्य ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई पक्राउ गरेको हो। दाङबाट पक्राउ परेकाहरुलाई चन्दा आतंक र हिंसात्मक घटनाको आरोप लगाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!