विप्लवलाई मूलधारमा ल्याउनुपर्छ : उपसभामति निधि

Posted on: 04 Jul, 2019

असार १९, चितवन | नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई  वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताउनु भएको छ । 

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राख्नुभयो ।

अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उहाँले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने धारणा राख्नुभयो । 

 निधिले काँग्रेसभित्र गुटबन्दी नरहेको बताउनुभयो । महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको उहाँको भनाइ थियो । “काँग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन”, उहाँले भन्नुभयो । 

सरकारले गरेका कामहरुका कारण जनतामा फेरि काँग्रेसप्रति आशा र भरोसा बढेको उहाँको भनाइ थियो । गुट–उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको निधिले बताउनुभयो । 

फरक प्रसङ्गमा उहाँले नेविसङ्घको तदर्थ समिति असार २२ गतेको केन्द्रीय समितिको बैठकपछि टुङ्गो लाग्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!