कास्की क्षेत्र नं २ को उपनिर्वाचन: नेकपाद्वारा तीन जनाको नाम सिफारिश

Posted on: 31 Oct, 2019

कात्तिक १४, चिप्लेढुङ्गा | नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ । 

सिफारिश हुनेमा स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन् । 

प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन् भने करण विगत २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित हुनुभएको थियो । यसअघि नेकपा जिल्ला कमिटीको कात्तिक ८ गतेको निर्णयले विद्या भट्टराईको एकल नाम सिफारिश गरे पनि केन्द्रले तीन जनाको नाम सिफारिश गर्न भनेकाले दुई जनाको नाम थपिएको नेकपा गण्डकी इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । 

वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट कास्की इन्चार्जसमेत रहनुभएका करणलाई सिफारिश गरिएको नेकपा गण्डकी संयोजक हितराज पाण्डेले जानकारी दिनुभयो । आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!