प्रदेश प्रमुख शेरचनको कोरोना परीक्षण

Posted on: 30 May, 2020

जेठ १७, कास्की | गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको आज स्वास्थ्य परीक्षणसहित स्वाब लिइएको छ । प्रदेश प्रमुखबाट जेठ १८ गते आइतबार गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी उहाँसहित सचिवालयका कर्मचारी तथा सुरक्षाकर्मीको पिसिआर विधिबाट परीक्षण गरिएको हो । 

प्रदेश प्रमुख शेरचन, प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलासहित स्वकीय सचिवालयमा कार्यरत कर्मचारी एवं सुरक्षाकर्मी गरी ४० जनाको स्वाब लिइएको प्रदेश प्रमुखका प्रेस संयोजक रूद्रबहादुर श्रीसले जानकारी दिनुभयो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदी, मेडिकल ल्याबोरेटरी एशोसिएसन अफ नेपाल (मेलान), गण्डकी प्रदेशका अध्यक्ष सूर्य पोखरेल, ल्याब प्राविधिकद्वय राजेन्द्र पौडेल र सुशीला कार्कीलगायतको टोलीले परीक्षण गरेको हो । 

यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत मन्त्री र सम्पूर्ण प्रदेशसभा सदस्य, प्रदेशसभाका कर्मचारी तथा सुरक्षाकर्मीको स्वाब परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!