संविधान संशोधनमा राष्ट्रिय एकता झल्किएको छः शेरबहादुर देउवा

Posted on: 13 Jun, 2020

जेठ ३१, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा राष्ट्रियता झल्किएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा पार्टी संसदीय दलका नेता देउवाले संविधान संशोधनमा सबै दलको समर्थन देखिनाले नेपालीबीचको राष्ट्रिय एकता झल्किएको बताउनुभयो । 

“ जुनसुकै पार्टी होऊन् राष्ट्रियताका पक्षमा एकताबद्ध छन्, राष्ट्रको सार्वभौमिकताका लागि, राष्ट्रको अखण्डताको लागि नेपाली एक छन् भन्ने कुरा प्रष्ट भएको छ”, पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो । उहाँले  विधेयकमा आफ्नो पार्टीको समर्थन रहेको समेत जानकारी दिँदै  आफ्नो पार्टीको केन्द्रीय समितिले संशोधनका पक्षमा समर्थन गर्ने निर्णय गरेको बताउनुभयो । आगामी दिनमा जमीन फिर्ता ल्याउने विषयमा पनि आफ्नो पार्टीको समर्थन हुने उहाँको भनाइ थियो ।

सभापति देउवाले सुगौली सन्धि १८१६ अनुसार कालीनदी पूर्वको जमीन नेपालको हो भन्ने कुरा स्पष्ट रहेको तथा अंग्रेज र चीनले छापेको नक्शामा पनि काली नदीपूर्वको जमीन नेपालको भएको स्पष्ट रहेको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!