एकताका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टी निर्वाचन आयोगमा दर्ता !

Posted on: 19 Aug, 2020

भदौ ३, काठमाडौँ | दुई बर्षअघि २०७५ जेठ ३ गते 'नेकपा एमाले र नेकपा माओवादी केन्द्र' मिलेर पार्टी एकीकरण गरे । तर त्यसको दुई बर्षमै उही नाममा दुवै पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् । 

बुधबार निर्वाचन आयोगमा 'नेकपा (एमाले)' नामको दल दर्ता भएको निर्वाचन आयोगले पुष्टि गरिसकेको छ । आयोगको बुधबार बसेको बैठकले नेकपा (एमाले) नामको दल दर्ता गर्ने निर्णय गरेको हो । 

सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा (एमाले)को महासचिवमा मनिषकुमार उपाध्याय रहेको र चुनाव चिह्न 'उदाउँदो सूर्य' रहेको छ । 

एमाले दर्ताको निवेदन आयोगमा परेसँगै सत्तारुढ नेकपाभित्र विवाद चर्किएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका लागि दल दर्ता गराउन लगाएको आरोप लगाइएको थियो । नवगठित नेकपा (एमाले)मा रहेका पदाधिकारी ओलीसँगै सांसद महेश बस्नेत निकट रहेको नेकपाका नेताहरूले बताउँदै आएका छन् ।

नेकपा माओवादी केन्द्र यसअघिनै दर्ता 

यसअघि २०७६ मै गोपाल किरातीको अध्यक्षतामा नेकपा माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता भएको थियो । गत असोज ९ गते निर्वाचन आयोगबाट नेकपा माओवादी केन्द्रलाई पुरानै चुनाव चिन्ह 'गोलाकार भित्र हसिया हथौडा' समेत दिएको थियो । गत मङ्सिरमा भएको उपनिर्वाचनमा २१ दलले निर्वाचनमा भाग लिन पाउने सूचना निकालिएको थियो, जसमा माओवादी केन्द्रको नाम २१ नम्बरमा थियो । 

बुधबार दर्ता भएको नेकपा एमालेमा नेकपाका पदाधिकारी ओलीसँगै सांसद महेश बस्नेत निकट रहेको नेकपाका नेताहरूले बताउँदै आएपनि नेकपा माओवादी केन्द्रमा भने एकता अघिनै एकतामा जान नचाहेका नेता गोपाल किरातीसहित अन्य नेताहरु रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!