शेरबहादुर दाईको सल्लाहमै निधि सभापतिमा लड्ने

Posted on: 16 Sep, 2020

मिनाक्षी झा | कोरोना कहरकै बीच नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार नेपाली कांग्रेसको १४औं महाधिवेशनका कार्यक्रमहरु सुरु भइसक्नुपर्ने थियो । तर कोरोना महामारीले गर्दा नै अहिलेसम्म प्रक्रिया सुरु हुन सकेको छैन । कांग्रेसको विधानअनुसार तोकिएको मितिमा महाधिवेशन गर्नै पर्ने छ । अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै कार्यतालिकाअनुसार महाधिवेशन गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरामा विचार गर्दै आगामी कार्यदिशा तय हुन्छ । तर, समयमा नै महाधिवेशन गर्नुपर्छ । जसरी पनि महाधिवेशन गर्नुपर्ने भएकोले यसबारे पार्टीले केही निर्णय गर्छ होला । 

कांग्रेसको विधानमा चार वर्षमा महाधिवेशन हुनुपर्ने भनिएको छ । यदि त्यो अवधिमा हुन सकेन भने कार्यकाल एक वर्ष थप्न सकिने प्रावधान छ । अहिले ६ महिना समयावधि थप्न सकिन्छ भन्ने कुरा संविधानमै आएकोले बढाउन सकिन्छ । चार वर्षको अवधि सकिसकेको छ, आउँदो फागुनमा एक वर्ष बढी हुन्छ । यो फागुनसम्मै गर्न सकियो भने पार्टीका नेताहरुको विचार छ । कोरोनाले गर्दा यदि सम्भव भएन भने आउँदो भाद्रभित्रै गर्नुपर्ने समय तोकिएकोले जसरी पनि गर्नैपर्छ । 

महाधिवेशनको मुखमा सभापति शेरबहादुर देउवाले गर्नुभएको विभागहरु विधानविपरीत होइन । विधानमा दुई महिनाभित्र विभागहरु गरिसक्नुपर्ने भनिएको छ । तर त्यसमा पनि सभापतिको अधिकारक्षेत्रभित्र पर्दछ । सभापतिको बहुमत पनि भएकोले उहाँले आफ्नो अधिकारको प्रयोग गर्नुभएको हो । तर सभापतिले पार्टीका सबै नेतालाई मिलाएर सहमतिमा विभागहरु गठन गर्नुपर्ने कुरा थियो । अंशवण्डाको कुरा त्यहाँ पनि आयो । विगतमा अन्य पक्षले सभापतिलाई सहयोग नगरेपछि अहिले एकलौटी गर्नुभएको हो । 

राजनीति गर्नेले उच्च पदमा पुग्ने सबैको इच्छा हुन्छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल पार्टीका शीर्ष नेता हुनुहुन्छ । उहाँहरु पछिका नेता विमलेन्द्र निधि हुनुहुन्छ । कांग्रेसमा निधिको ५० वर्षको लगानी छ । उहाँले एक कार्यकाल सभापति चलाएपछि अर्को पटक फेरि युवापिढीलाई हस्तान्तरण गर्दै जाने विचार राख्नुभएको छ । यो कुरालाई गर्व नै लाग्छ । उहाँले युवापिढीका लागि पनि सोच्नुभएको छ । नेताहरुले आफैलाई दोहो¥याई तेह¥याई आफू मात्र नेता हुँ भन्ने सोच्छन् । तर उहाँले अरुका लागि पनि सोचिदिएको हुनाले उहाँ पार्टीका लागि योग्य हुनुहुन्छ भन्ने मैले ठानेको छु । उहाँले अहिले पनि शेरबहादुर दाईको सल्लाहमै सभापतिमा लड्ने भन्नुभएको छ । त्यो पनि उहाँको महानता नै हो । उहाँले सभापतिका लागि इच्छा राख्नु स्वाभाविक नै हो । लामो समयको उहाँको राजनीतिक इतिहास छ, ठूलो लगानी छ, त्यो किसिमको राजनीतिक छवि पनि छ । 

निश्चितरुपमा विमलेन्द्र निधिलाई कांग्रेसको सभापतिमा एक पटक मौका दिनुपर्ने हो । किनभने उहाँ अर्को महाधिवेशन आउँदासम्म ७० पुग्नुहुन्छ । त्यसपछि नयाँ पीढिलाई हस्तान्तरण गर्ने सोचिसक्नुभएको छ । उहाँ शेरबहादुर दाईको धेरै नजिकको मान्छे हुनुहुन्छ । शेरबहादुर दाईले उहाँलाई आश्वासन दिनुभएको छ रे । आश्वासन दिएपछि शेरबहादुर दाईले पूरा गर्नुप¥यो नि । शेरबहादुर दाई अहिले एउटा अभिभावकको भूमिकामा हुनुहुन्छ । उहाँले आफूले दिएको आश्वासन पूरा गर्नुभयो भने उहाँको इज्जत कम हुँदैन, झन् बढ्छ । म त शेरबहादुर दाईलाई पनि भन्न चाहन्छु कि यदि आश्वासन दिनुभएको छ भने पूरा गर्नुप¥यो । यदि भन्नुभएको छैन भने पनि विमल दाईको इच्छा छ भने दिनुस् भनेर म भन्न चाहन्छु । 

कोरोना नियन्त्रणमा सरकार असफल

कांग्रेसले सुरुदेखि नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवाज उठाउँदै आएको छ । कांग्रेसको हात अहिले केही पनि नरहेको केही गर्न सक्ने अवस्था छैन । अहिले पनि हाम्रा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई भेटेर कोरोना रोकथाममा सरकार गम्भीर बन्नुपर्ने सुझाव दिएपनि सरकारको ध्यान गएको छैन । प्रतिपक्षले सरकार र सत्तारुढ दललाई दबाब दिनबाहेक अरु केही गर्न सक्ने अवस्था पनि छैन । 

मुलुकको कुनै पनि समस्यासँग जुध्न मुख्य भूमिका सरकारकै हुनुपर्ने हो । तर पनि कांग्रेसले आफ्ना भ्रातृ संगठनहरु तरुण दल, नेविसंघले पनि सरकारलाई ज्ञापनपत्र पनि बुझाएको थियो । सरकारले पनि प्रदेश र स्थानीय निकायको दायित्व हो भनेर पन्छिरहेको छ । कांग्रेसले प्रदेश, स्थानीय तह र संघीय सरकारलाई समेत सचेत गराउँदै आएको छ । जनताले बुझोस् कि यो दुई तिहाइको सरकारले केही गर्न सकेको छैन । हामी सबै आआफ्नै तरिकाले सचेत हुनुपर्छ । कांग्रेसले जनताको जीउज्यान जोगाउनका लागि ठाउँ–ठाउँमा आफ्ना कार्यकर्ता पनि परिचालन गरेको छ । सचेतना पनि फैलाइरहेको छ । प्रतिपक्षको भूमिको भनेको संसदमै देखिन्छ । यस्तो अवस्थामा एकाएक संसद बन्द गर्नुपर्ने अवस्था थिएन । संसदमा विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल गर्नुपर्ने थियो, कोरोनाको विषयमा रणनीतिहरु तयार गर्नुपर्ने थियो । यस्तो विषम् परिस्थितिमा पनि सत्तारुढ दलभित्र सरकार परिवर्तनको खेल भइरहेको छ । यो कुरा जनताले बुझ्नुपर्ने हुन्छ कि कुन दललाई जितायौं । प्रतिपक्षले पनि योभन्दा बढी भूमिका हुनुपर्छ । 

अब प्रतिपक्षले प्रदेश र स्थानीय तहका प्रतिनिधिहरुलाई घच्घचाउनुपर्छ पर्छ कि संघीय सरकारले केही गर्न सकेन भने अब तपाइँहरुले नै जनताको जीउज्यानको रक्षा गर्न अग्रसरता लिनुपर्छ । कांग्रेस त जहाँ पनि प्रतिपक्षमै छ । स्थानीय तहमा कांग्रेसको तर्फबाट रहेका जनप्रतिनिधिहरुलाई नेतृत्वले निर्देशन दिएकै छ । स्थानीय तहमा पनि संघले पूर्ण अधिकार दिएको छैन । 

प्रदेशको भूमिका पनि न्यून

अहिलेको अवस्थामा प्रदेश सरकारको जुन भूमिका हुनुपर्ने थियो, त्यो देखिएको छैन । प्रदेश सरकारले पनि संघलाई गाली मात्रै गरेर बसिरहेको छ । आफ्नो दायित्व त्यति बुझेको छैन । संघमा जसरी कमिशनको खेल छ, प्रदेशमा पनि त्यस्तै कमिशनको खेल भइरहेको छ । जहाँ कमिशन आउँदैन त्यहाँ ढिलो हुन्छ । प्रदेश २ का मुख्य व्यक्तिहरुलाई पनि कोरोना संक्रमण भएको छ । संघले प्रदेश र स्थानीय निकायलाई दोष देखाउँछ । एक अर्कालाई दोषारोपण गरेर नै जनता अहिले पीडित भइरहेका छन् । यो नहुनुपर्ने अहिले पनि सुधार होस् । सुरुदेखि संघलाई गाली गर्ने बानी भएर अहिले पनि प्रदेशले आफ्नो जिम्मेवारी नबुझेर केन्द्र गाली मात्रै गरेर बसिरहेका छन् । केन्द्रले दायित्व बुझेको छैन भने आफ्नो दायित्व त बुझ्नुपर्यो नि । (मधेश दर्पण फिचर सेवा)

यस बिषयमा तपाइको प्रतिक्रिया...!