संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार हो: सभामुख

Posted on: 19 Sep, 2020

असोज ३, काठमाडौँ | सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताउनुभएको छ । संविधान दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवाद सिर्जना हुन नदिनेतर्फ सचेत बन्नुपर्नेमा जोड दिनुभएको छ ।

“संविधानअनुरुप निर्माण भएका ऐनका नियमावली निर्माणमा ढिलाइ भएको गुनासा सम्बोधन गर्नुपर्ने छ, कानून बन्ने तर नागरिकले प्रतिफल प्राप्त गर्न नसक्ने अवस्था आउन नदिनेतर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छु”, सन्देशमा उहाँले भन्नुभएको छ । सभामुख सापकोटाले आजको विशेष दिनले सबैलाई संविधानको मर्म र भावनानुसार काम गर्न प्रेरणा मिल्ने पनि विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा १०९ मा सङ्घीय संसद्को व्यवस्थापकीय अधिकार, धारा १९७ मा प्रदेशसभाको व्यवस्थापकीय अधिकार र धारा २२१ मा स्थानीय तहको व्यवस्थापकीय अधिकारको व्यवस्था गरिएका कारण तीन वटै तहले कानूनको निर्माण गर्ने अधिकार राख्ने र आवश्यकतानुसार कानूनको निर्माण र कार्यान्वयन गरिरहेको स्मरण गर्नुभएको छ ।

संविधान गतिशील दस्तावेज भएको उल्लेख गर्दै सभामुख सापकोटाले नीतिनिर्माण तथा राज्यका विभिन्न संयन्त्रमा समावेशिताको व्यवस्था गरिएको जनाउनुभएको छ । सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) कानून बनेको तथा संविधानसँग बाझिएका कानून संशोधन भइसकेको जनाउँदै उहाँले प्रदेश र स्थानीय तहले आफ्ना एकल अधिकारअन्तर्गतका कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको बताउनुभएको छ ।

नेपालको संविधान नेपालका अग्रगामी परिवर्तन पक्षधर जनताको सङ्घर्ष र शहीदका बलिदानको प्रतिफल रहेको उल्लेख गर्दै उहाँले शहीदको साहस, अग्रगामी परिवर्तनको तीव्र इच्छाशक्ति एवम् बलिदानीपूर्ण सङ्घर्षका कारण नेपालको संविधान निर्माण सम्भव भएको बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!