सरकार र डा. केसीबीच सहमति

Posted on: 09 Oct, 2020

असोज २३, काठमाडौं । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । दुबै वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि आजै अनसन तोड्ने तयारी रहेको छ । शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए ।

चिकित्सा शिक्षाको सुधारको माग राख्दै १९औं पटकको अनसनमा बसेका डा. केसीको जीवन बचाउनका लागि २५औं दिनमा चौतर्फी दबाब भएपछि बुधबार गठन गरिएको सरकारी वार्ता टोलीसँग केसीका तर्फबाट तोकिएका वार्ताटोलीको बिहीबार बिहान १०:३० देखि शुरु भएको छलफल आज पनि चलेको थियो ।

बिहीबार सहमति हुन नसकेको विषय डा. केसीको ६ बुँदे मागको चौथो बुँदा थियो । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो । बार्ताबाट के-के सहमति भयो भन्ने बारे भने कुनै जानकारी आएको छैन ।

वार्ता टोलीमा सरकारका तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजनमा गुणराज लोहनी, स्वास्थ्य मन्त्रालयका सहसचिव र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मासहितको तीन सदस्य रहेका थिए । 

त्यसैगरी अनशनरत डा केसीका तर्फबाट संयोजक डा जीवन क्षेत्री, सदस्यहरु डा अञ्जनीकुमार झा, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष तथा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष, डा लोचन कार्की, नेपाल चिकित्सक संघका अध्यक्ष, ओम प्रकाश अर्याल कानूनविद्सहितको टोली रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!