नेकपा पर्सामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप, एकको मृत्यु, एक गम्भीर

Posted on: 23 Oct, 2020

कात्तिक ७, पर्सा | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा उपचारको क्रममा एकको मृत्यु भएको छ भने एक जना अवस्था गम्भिर रहेको छ । गम्भीर घाइते रहेका नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चौरसियालाई नारायणी अस्पतालबाट पानीटंकी स्थित न्यूरो हस्पिटलमा थप उपचारको लागि लगिएको थियो । अर्का गम्भीर घाइते उत्तम तिवारीको उपचार भइरहेको छ ।

नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा दर्जनौँ व्यक्ति घाइते भएका थिए । कार्यक्रम स्थलमा गाउँपालिका अध्यक्ष र सचिवबीच विवाद हुँदा उग्ररुप लिएको थियो । सो क्रममा दर्जनौँ कार्यकर्ता घाइते भएको नेकपा पर्साले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले परसौनीभाठा बस्ने मुकेश चौरिसयाको उपचारको क्रममा मृत्यू भएको जानकारी दिए । २ जना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको छ ।

प्रहरीले पक्राउ गरेका मध्ये  नेकपाका नेता राजुकुमार गुप्तालाई बिहिबार राती नै रिहा गरिदिएको थियो भने अन्य ७ जनालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कार्यलय पर्साले जिल्ला कमिटी सदस्य तथा विन्दावासिनी गाउँपालिका कमिटिका सचिव चौरासियामाथि हमला गरी हत्या गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेको छ । शुक्रबार जिल्ला कमिटी पर्साले विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, मुकेस चौरासियालाई शहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!