कोरोना संक्रमित मुख्यमन्त्री पौडेललाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

Posted on: 23 Oct, 2020

कात्तिक ७, काठमाडौँ | वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ ।

बिहीबार मुख्यमन्त्रीसहित उनका पत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको थियो । मुख्यमन्त्री पौडेललाई हेटौंडाको सामरीस्थित नेपाली सेनाको मध्यपृतना हेडक्वार्टरबाट शुक्रबार दिउँसो करिब १ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि पत्नीसहित मुख्यमन्त्री पौडेल काठमाडौं ल्याइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । पौडेलको उपचार गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा हुने बताइएको छ ।

संक्रमित मुख्यमन्त्रीको स्वास्थ्यमा खासै समस्या देखिएको छैन । ७३ बर्षीय पौडेलको केही समय अघि मात्र मुटुको अप्रेशन गरिएको कारण समयमै सावधानी अपनाइएको बताइएको छ । 

काठमाडौंमा राजनीतिक भेटघाट गरेर फर्किने क्रममा रुघाखोकीसहित कोरोनाको लक्षण देखिएपछि बुधबार मुख्यमन्त्री पौडेलको स्वाब परीक्षण गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!