हुम्लाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम

Posted on: 07 Feb, 2021

माघ २५, हुम्ला ।  जिल्ला निर्वाचन कार्यालय हुम्लाले यहाँका स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ । सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

चुनावमा मत बदर नहोस् भन्नका लागि ती कार्यक्रमले सहयोग पुग्ने कार्यालयका प्रमुख महेशकुमार थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कक्षा आठ, नौ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका हौँ ।” विद्यार्थीमार्फत अभिभावकलाई मतदान गर्ने सही तरीका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा २०० भन्दाबढी विद्यार्थी सहभागी रहेका छन् । निर्वाचन कार्यालयको कार्यक्रमअनुसार जिल्लाका छ वटा विद्यालय सिमकोट गाउँपालिकाको मानसरोवर मावि, बालमन्दिर मावि, कैलाश मावि, रलिङ मावि, रामदेव मावि र नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङमा यो कार्यक्रम सञ्चालन भएको हो ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!