सरकार समर्थनबारे माओवादी अनिर्णीत, भोलि पुनः बैठक बस्ने

Posted on: 20 Apr, 2021

वैशाख ७, काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै वर्तमान सरकारको विपक्षमा रहेको नेकपा (माओवादी केन्द्र) सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अझै टुङ्गोमा पुग्न सकेको छैन । माओवादीका नेताले मौखिकरूपमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफूहरूको समर्थन नरहेको जिकिर गरिरहे पनि उक्त पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र सङ्घीय संसद्लाई पठाएको छैन । 

वैकल्पिक सरकार गठनको पहलकदमी लिइरहेको दाबी गर्दै आएको माओवादी केन्द्र समर्थन फिर्ता लिन अलमल गरिरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग बारम्बार द्विपक्षीय, त्रिपक्षीय छलफल भए पनि उक्त छलफलले आकार लिन सकेको छैन । कांग्रेसले केन्द्रीय कार्य समितिबाट आफ्नै नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय गरिसकेको छ भने जनता समाजवादी पार्टीले आफूलाई स्पष्ट पार्न सकेको छैन । 

सरकारलाई दिएको समर्थनलगायत कार्यसूचीमा छलफल गर्न आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठक उक्त विषयमा निष्कर्षमा पुग्न सकेन । सोही विषयमा छलफल गर्न बुधबार माओवादीको स्थायी समिति बैठक पुनः बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकारलाई दिएको समर्थनबारे छिट्टै निर्णय लिइने बताउँदै आएका प्रवक्ता श्रेष्ठ वर्तमान सरकारलाई पार्टीको समर्थन नरहेको र औपचारिक रूपमा फिर्ता लिन मात्रै बाँकी रहेको जिकिर गरे । 

“यो सरकारलाई हाम्रो समर्थन छैन, हाम्रो गतिविधिले पनि त्यो देखाइरहेको छ”, बैठकपछि सञ्चारकर्मीसँग उनले भने, “औपचारिकरूपमा समर्थन नरहेको लेखेर दिन मात्र बाँकी छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘सरकारलाई सहयोग नगर्ने हो भने समर्थन फिर्ता लिन’ माओवादी केन्द्रलाई सार्वजनिकरूपमै आह्वान गरीरहेका छन् । 

माओवादीले संसद् विघटनविरुद्ध एक ठाउँमा उभिएका विभिन्न राजनीतिक दलको सहभागितामा नयाँ सरकार बनाउने विषयलाई निष्कर्षमा पु¥याउने निर्णयसमेत गरेको छ । “वर्तमान सरकारलाई हटाएर प्रतिगमनविरुद्ध सङ्घर्ष गर्ने, संविधान र लोकतन्त्र पक्षधर शक्तिको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्तालाई तीव्ररूपमा अगाडि बढाउने र छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको छ”, प्रवक्ता श्रेष्ठले भने

 । माओवादीले सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य गरिनु दुःखद् भएको जनाएको छ । उनले भने, “संसद् बैठकको मिति र समय निश्चित भएको तथा अधिवेशनलाई प्रभावकारी बनाउनुपर्ने अवस्थामा सरकारले संसद् अधिवेशन अन्त्य गर्ने काम ग¥यो । यो कदमलाई पार्टीले विरोध गरेको छ ।” बैठकमा केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभिन्न कार्य क्षेत्रमा रहेका स्थायी समिति सदस्यले ‘रिपोर्टिङ’ गरेका थिए । 

कोभिड नियन्त्रणमा समन्वय गर्न निर्देशन

माओवादीले मुलुकमा कोरोना भाइरसको दोस्रो लहर देखिन थालेको भन्दै नियन्त्रणका लागि उचित निर्णय लिन सरकारलाई आग्रह गरेको छ । कोभिड–१९ नियन्त्रणका लागि जनसमुदायमा सचेतना जगाउँदै महामारी नियन्त्रणमा सहयोग र समन्वय गर्न पनि पार्टी पंक्तिलाई निर्देशित गरेको प्रवक्ता श्रेष्ठले बताए । 

कोरोना भाइरस फैलन नदिन विभिन्न आदेश जारी गरेको भए पनि सरकार आफँैले त्यसको उल्लङ्घन गरेको आरोप पनि माओवादीले लगाएको छ । “कोभिड नियन्त्रणका लागि ल्याएको आदेश सरकार आफैँले उल्लङ्घन गरेको छ”, उनले भने, “सङ्क्रममणको नियन्त्रण र व्यवस्थापनप्रति गम्भीर नभएकामा बैठकले दुःख व्यक्त गरेको छ ।” माओवादीले आफँैले बनाएको आचरणको पालना गर्न सरकारलाई आह्वान गरेको छ । स्थायी कमिटी बैठक भोलि अपराह्न पुनः १ बस्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!