सर्लाहीमा एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

Posted on: 26 Jun, 2021

असार १२, काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ ।

सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए । एसपी राठोरका अनुसार चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

सर्लाही प्रहरीका अनुसार गत शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर गएका थिए ।

नगरपालिकाको बजेटबाट भइरहेको पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर वडाध्यक्ष श्रेष्ठसँगै ठेकेदार प्रेमराज दाहाल पनि गएका थिए । त्यही क्रममा सामान्य विवादमा एक्स्काभेटर चालकले श्रेष्ठको टाउको र छातिमा बकेट प्रहार गरेको प्रहरीको भनाइ छ ।

एसपी राठोरले हत्याको कारण पोखरीको विषय वा अन्य राजनीतिक कारण नभएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!