लुम्बिनीमा मन्त्रीहरूको नाममा सहमति नजुट्दा सरकार बिस्तारमा ढिलाई

Posted on: 09 Oct, 2021

असोज २३, काठमाडौँ, न्युज कारखाना | सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत लुम्बिनी प्रदेश सरकारले मन्त्रिमण्डल बिस्तार गर्न सकेको छैन । सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसले मन्त्रीहरूको नाम टुंगो लगाउन नसक्दा मन्त्रीमण्डल बिस्तारमा ढिलाई भएको हो । 

प्रदेश सरकारमा कांग्रेसले चारवटा मन्त्रालय पाएको छ । जसमा डिल्लीबहादुर चौधरी पर्यटन र ग्रामीण तथा सहरी विकासमन्त्री छन् भने अरु मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन ।

कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका बसिउद्धिन खाँलाई मन्त्री बनाउने सहमति भएको बताए । 'अब एकजना मन्त्री र एक राज्यमन्त्रीको नाम मात्रै टुंगो लाग्न बाँकी छ, त्यो पनि छिटै टुंगिन्छ', उनले भने । रुपन्देहीका अष्टभुजा पाठक र पाल्पाका वीरबहादुर रानाको नाममा सहमति जुट्न सकेको छैन ।

त्यस्तै राज्यमन्त्रीको नाम पनि टुंगो लाग्न बाँकी छ । आकांक्षी धेरै भएका कारण समय लागेको कांग्रेस नेताहरू बताउँछन् । मन्त्री बन्नका लागि अर्घाखाँचीकी निर्मला क्षेत्री, कपिलबस्तुकी रिना नेपाल र दाङका अर्जुन श्रेष्ठले पनि आकांक्षा राखेका छन् । प्रदेश संसदीय दलले मन्त्री टुंगो लगाउन नसकेपछि दलका नेता वीरेन्द्र कनौडियाले पार्टीको केन्द्रीय नेतृत्वसँग छलफल गरेर समाधान खोजिने बताए ।

माओवादी केन्द्रले भने मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मालाई मन्त्री बनाउने निर्णय भएको छ ।  राज्यमन्त्रीमा विमलाकुमारी खत्री वलीको नाम टुंगो लागेको छ । माओवादीको भागमा परेको एउटा मन्त्रालय नेकपा (एकीकृत समाजवादी)लाई दिने भएपछि अन्तिम समयमा प्रमुख सचेतक पाल्पाका तुलाराम घर्तीको नाम समेत हटेको छ ।

नेकपा समाजवादीबाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछन् । लुम्बिनी प्रदेशसभामा घर्ती समाजवादीकी एक्ली सांसद हुन् । एमाले नेता शंकर पोखरेलको सरकार अल्पमतमा परेर ढलेपछि २८ साउनमा माओवादी केन्द्रका कुलप्रसाद केसी पाँच दलीय गठबन्धनको सहारामा मुख्यमन्त्री बनेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!