गठबन्धन दुर्घटनाबाट जोगियो, अब अर्ली इलेक्सन हुँदैन : प्रचण्ड

Posted on: 09 Oct, 2021

असोज २३,काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय आएपछि मात्रै निर्वाचन हुने बताएका छन्। उद्योग संघ चितवन शाखाको ३० औं साधारणसभा एवं १६औं अधिवेशनमा प्रचण्डले अहिलेको सरकारले पूर्ण अवधि काम गर्ने बताएका हुन्।

‘सरकारले हिजो मात्रै पूर्णता पाएको छ। सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शंका थियो। हिजोदेखि दुर्घटना टर्‍यो,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘अब समय अगावै निर्वाचन नहुने भएकाले ढुक्क रहन सबैलाई आग्रह गर्छु। सबै मिलेर काममा लाग्ने समय आएको छ। शंका हटाएर काममा जुटौं।’

देशमा आर्थिक विकासले गति लिने वा नलिने भन्ने कुरा आर्थिक, औद्योगिक र राज्यका नीति कस्ता हुन्छन् भन्नेमा भरपर्ने भन्दै उनले जोड दिए, ‘नीतिमध्येको राजा भनिन्छ राजनीतिलाई, राजनीति संलियो भने सबै संलिँदै जान्छ। राजनीति बेथितितिर गयो भने सबै बेथितिमै जान्छ।’

अध्यक्ष प्रचण्डले भने, ‘तपाईहरुले देख्नुभएको छ, अहिले हामीले राजनीतिलाई सम्हाल्ने र त्यसलाई सङ्लो पार्नेतिर नै मेहनत गरिरहेका छौं। यसको तात्पर्य देशमा आर्थिक विकासको एउटा आधार तयार पार्ने नै हो।’ निजी, सार्वजनिक र सहकारीका बीचमा राम्रो सहकार्य गरेर तीब्र आर्थिक विकास गर्नुपर्ने भन्दै उनले नेपालको आर्थिक विकासको आधार कृषि भएकामा जोड दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!