कांग्रेस प्रतिनिधिमण्डल लखनऊमा, मुख्यमन्त्री योगीसँग भेटवार्ता

Posted on: 09 Oct, 2021

असोज २३, काठमाडौँ | भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल उत्तर प्रदेशको राजधानी लखनऊ पुगेको छ । केन्द्रीय राजधानी नयाँ दिल्लीमा राजनीतिक भेटवार्ता सकेर कांग्रेस प्रतिनिधिमण्डल नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यको लखनऊ र बनारस भ्रमणमा निस्किएको हो ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, सांसदहरु उदय शम्शेर राणा र अजय चौरासियाको प्रतिनिधिमण्डलले लखनऊमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको छ ।

मुख्यमन्त्री कार्यालय लोकभवनमा भएको भेटमा दुई देशबीचको साँस्कृतिक सम्बन्ध र उत्तर प्रदेश-नेपालका जनताको सम्बन्धलाई बलियो बनाउनेबारे छलफल भएको नेता राणाले जानकारी दिएका छन् । मुख्यमन्त्री योगीले कांग्रेस प्रतिनिधिमण्डललाई स्वागत, सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!